वन्यजन्तु हेर्न जीप सफारी


२६ माघ २०७९, बिहीबार
safari 1

चितवन । चितवनको भीमवली सामुदायिक वनले पर्यटकका लागि जिप सफारी सुरु गरेको छ । कालिका नगरपालिका–५ पदमपुरस्थित वनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जीप सफारी सेवा सुरु गरिएको हो ।

भीमवली पार्कदेखि सुरु हुने सफारी गुन्द्रेमान्द्रे चौर हुँदै डेढदेखि दुई घण्टाको यात्रापछि पुनः भीमवलीसम्म सञ्चालन हुनेछ । नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीय सरोकारवालालाई जीप सफारी गराएर औपचारिकरुपमा सफारी सेवा सुरु गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

उनले जीप सफारीका क्रममा गैँडा, चित्तल, जरायो, मयुरलगायतका जीवजन्तु अवलोकन गर्न पाइने बताए । पदमपुर पर्यटनको सम्भावना भएको क्षेत्र हो । नगर प्रमुख विनोद रेग्मीले भीमवली वन क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुने बताए । उनले नगरपालिकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । नगर उपप्रमुख विमला लामाले स्थानीयस्तरमा पर्यटकीय क्षेत्रको सम्भावना खोजी हुनु सकरात्मक भएको भन्दै यसलाई दिगो बनाउन सबैले सहयोग गर्नुपर्ने बताइन् । भरतपुरबाट नजिकै रहेकाले पनि यहाँ आन्तरिक पर्यटकको संख्या बढ्ने उनले विश्वास व्यक्त गरिन् ।

यहाँ आन्तरिक पर्यटक आकर्षित गर्न घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याइएको भीमवली सामुदायिक होमस्टेका अध्यक्ष लोकराज चौधरीले जानकारी दिए । पहिलो चरणमा सात घरबास सञ्चालनमा ल्याइएको छ । पाहुनाको आगमन बढेसँगै घरबासको संख्या पनि बढाइने उनको भनाइ छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ) को सहयोगमा घरबास निर्माण गरिएको हो । घरबास सञ्चालनका लागि आवश्यक तालिम दिइएको छ । भीमवली सामुदायिक होमस्टे नगरपालिकाकै पहिलो हो । घरबासमा आउने पाहुनालाई थारुको परम्परागत खानासँगै थारु समुदायको कला संस्कृतिले मनोरञ्जन प्रदान गरिने अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७