संविधान लागू नै नगरी गुण–दोष छुट्याउन मिल्दैन : प्रधानमन्त्री


२६ माघ २०७९, बिहीबार
PRO KTM 6F8A8494 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमानदार कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयनमा इमानदार बन्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

PRO KTM 6F8A8498

‘जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ । त्यसका लागि झण्डै ७० वर्ष लामो संघर्ष गर्नुपर्‍यो । हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो । संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन् । कतिपय विषयमा बिमति पनि होलान् । तर, हामीले बनाएको संविधानको इमानदार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो,’ उनले भने ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि अपरिहार्य कानुनहरू तत्काल बनाउनुपर्ने आवश्यक रहेको बताएका छन् । ‘संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरूरी छ । संविधानको पूर्ण कार्यान्वयनपछि मात्र हाम्रो संविधानमा के कति समस्या र त्रुटिहरू छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ,’ उनले थपे, ‘संविधानले भनेको कुरा पहिला लागू गरौँ । त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला । संविधानमा भएको व्यवस्था लागू नै नगरी त्यसको गुणदोष छुट्याउन मिल्दैन, संविधानलाई दोष दिनु हुँदैन ।’

प्रधानमन्त्री दाहालले निजामती सेवा ऐनदेखि धेरै ऐनहरू बनाउन बाँकी रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण भइसकेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७