स्वास्थ्य चौकी नबन्दा सेवा प्रवाहमा समस्या


२७ माघ २०७९, शुक्रबार
health post
सांकेतिक तस्वीर

बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । निर्माण थालेको सात वर्ष बित्दा पनि भवन अधुरै छ ।

विसं २०७२ कात्तिकमा रछिना एण्ड कन्स्ट्रक्सन प्रालिले १८ महिनामा सक्ने गरी भवन निर्माणको जिम्मा लिएको थियो । अहिले वर्षौं पुरानो जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएको छ । पटक–पटक म्याद थप गर्दा पनि भवन बनाउन नसकेको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर योगेन्द्र बस्ताकोटीले बताए । निर्माण कम्पनीले हालसम्म ९० प्रतिशत काम सकेको छ ।

कार्यालयले केही दिन अगाडि ठेक्का तोड्नका लागि सूचना प्रकाशन गरेको र निर्माण कम्पनीले माघ महिनाभित्रै काम सक्ने भन्दै पत्र पठाएको बस्ताकोटीले बताए । ‘ठेक्का तोड्ने या काममा लगाउने भन्ने विषयमा निर्णय भएको छैन’, उनले भने ।

भवनको लागत रु एक करोड ७० लाख ४८ हजार रहेको छ । स्थ्यचौकी प्रमुख उमेश सर्बुजाले समयमै भवन नबन्दा पुरानो साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपरेको गुनासो पोखे । एउटै भवनबाट बर्थिङ सेन्टर, खोप, बिरामी जाँच्नेलगायत काम गरिँदै आएको छ । ‘पुरानो भवनमा पर्याप्त कोठा छैनन्, एकै पटक धेरै बिरामी आए कहाँ जाँच गर्ने ?, कहाँ खोप लगाउने ?, कहाँ प्रसूति गराउने भन्ने समस्या हुन्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७