‘बालबालिका शिक्षकसँग साथी जस्तै व्यवहार खोज्छन्’


२७ माघ २०७९, शुक्रबार
Student achham 1 scaled
फाइल फोटो

कैलाली । बालबालिकाले शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् ।

कालिका आधारभूत विद्यालयकी शिक्षिका शान्ति काफ्ले साना बालबालिकाले अझ बढी स्नेह खोज्ने बताउँछिन् । ‘बालबालिकालाई असल मार्ग देखाउने, सपना देखाउने काम परिवार, साथी, विद्यालय, आफन्त सबैले गर्छन्’, उनी भन्छिन्, ‘शिक्षकले त भविष्य देखाउनु पर्छ । आमाको काखबाट विस्तारै विद्यालय आउने बालबालिका शिक्षक पनि आमा जस्तै माया गरुन भन्ने चाहन्छन् ।’

काफ्लेले साना नानीबाबु काखमै निदाउने, घर जस्तै वातावरणमा खान र खेल्न खोज्ने बताइन् । ‘आजभोलि तीन वर्ष पार नगर्दै बालबालिकालाई विद्यालय पठाइन्छ । साना नानीबाबु विद्यालयमा पनि आमा खोज्छन्’, उनी भन्छिन्, ‘हामीले पनि आमा जस्तै माया गरे पो उनीहरु विद्यालयमा टिक्छन् । नभए विद्यालय आउनै मान्दैनन् ।’

शिक्षण सिकाइ क्रियाकलापको मूल उद्देश्य पनि यही हो । बालबालिकालाई पढाइसँगै असल बनाउन अभिभावक, विद्यार्थी स्वयं र शिक्षकको अहम् भूमिका रहन्छ । बालबालिका अभिभावक जस्तै शिक्षकबाट माया, स्नेह र साथी जस्तो व्यवहार खोज्छन् ।

अभिभावकले आफ्ना बालबालिका र आफ्ना सपना पूरा गर्ने, गराउने आधार खडा गर्न विद्यालय र शिक्षकप्रतिको विश्वासमा विद्यालय पठाउने गरेका कर्णाली मावि टीकापुरका शिक्षक नारायण ढुङ्गाना बताउँछन् । ‘विद्यार्थी विद्यालयमा रहँदा शिक्षकलाई असल अभिभावक, असल साथी ठान्छन्’, ढुङ्गाना भन्छन्, ‘अभिभावक र विद्यार्थीको शिक्षकप्रतिको यही विश्वासका कारण शिक्षक शिक्षक बन्न सकेका हुन् । हामीले जतिखेर, जहाँ पनि उनीहरुका अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।’

बालबालिकामा भएका अन्तर्निहित क्षमतालाई उजागर गर्नका निम्ति शिक्षक पुल बनेका हुन्छन् । शिक्षक माया भट्टराई विद्यार्थीलाई पढाउँदा संख्या धेरै हुने भएकाले छलफल र अन्तक्र्रिया गर्न समस्या हुने गरेको बताउँछिन् । ‘सामुदायिक विद्यालयमा विद्यार्थी धेरै हुँदा समस्या हुन्छ’, उनले भनिन्, ‘विद्यार्थीले छलफल र प्रयोगात्मक कक्षा मन पराउँछन् ।’

शिक्षिका दिलाकुमारी रावलले साना बालबालिका पढाइभन्दा खेल्न, दैनिक दिइने खाजा र शिक्षकको नजिक हुन मन पराउने गरेका बताइन् । ‘हामीकहाँ विपन्न समुदायका बालबालिका बढी छन् । उनीहरु दिउँसो विद्यालयमा दिइने खाजा कुरेर बस्छन्’, उनले भनिन्, ‘शिक्षकसँग खेल्न, कुराकानी गर्न र खेल्दै पढ्न खोज्छन् ।’

शिक्षक पदमबहादुर बुढा विद्यार्थी शैक्षिक सामग्रीको प्रयोग गर्दा खुसी हुने र सैद्धान्तिकभन्दा प्रयोगात्मक कुरामा बढी ध्यान दिने गरेका बताउँछन् । ‘हामीले पढाउँदा शैक्षिक सामग्रीको सकेसम्म धेरै प्रयोग गर्छौं’, उनी भन्छन्, ‘प्रयोगात्मक कक्षा गरेर अध्ययन गराउँदा सिकाइ छिटो हुन्छ ।’

शिक्षक धनञ्जय ढुङ्गाना विद्यार्थी शिक्षक जस्तै सक्रिय नभएको बताउँछन् । ‘विगतका विद्यार्थी धेरै मेहनती तर अहिले सोचे जस्तो मेहनती छैनन्’, उनले भने, ‘बालबालिकाको सिकाइ सुधारका लागि शिक्षक र विद्यार्थी दुवै मेहनती हुनुपर्छ ।’

शिक्षिक तारा साउँद प्राविधि र अन्य ज्ञान नभएको शिक्षकलाई विद्यार्थीले नपत्याउने भएकाले शिक्षकले हरेक कुराको ज्ञान लिनुपर्ने बताउँछिन् । ‘अहिलेका बालबालिकाले मोबाइल, इन्टरनेट जस्ता प्रविधिको प्रयोग गरी धेरै कुरा जानेका हुन्छन्’, उनी भन्छिन्, ‘कुनै कुराको ज्ञान शिक्षकसँग छैन भने विद्यार्थीले हेप्छन् । त्यसैले शिक्षक धेरै मेहनती हुनुपर्छ । हरेक प्रविधि र ज्ञानसँग परिचित हुनुपर्छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७