नागरिकता विधेयकबारे सांसद यावदले भने, ‘राष्ट्रपतिको ‘भिटो’ बारे संसदमा छलफल गरौं’


३ फाल्गुन २०७९, बुधबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता कहिले पाउने भन्दै प्रश्न गरेका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले जन्मसिद्ध नागरिकको सन्तान कहिलेसम्म नागरिकताविहीन भएर बस्नु पर्ने भन्दै प्रश्न उठाएका हुन् ।

संविधान बनेको ८ वर्षसम्म नागरिकताविहीन भएको भन्दै उनले विधेयक पारित गरेर राष्ट्रपति समक्ष पु¥याउँदा पटक–पटक किन रोकिएको भनी प्रश्न गरेका छन् । ‘सरकारले नागरिकताको अध्यादेश ल्याउँछ, न्यायालले रोक्छ । न्यायालयले आदेश दिन्छ अनि सीडीओले रोक्छ । संसद्ले नागरिकता विधेयक पास गर्छ, राष्ट्रपतिले विधेयक रोक्छिन् । यो मुसा–बिरालो जस्तो छक्याउने खेल कहिलेसम्म ?’, उनले भने ।

एक लाख ७० हजार जन्मसिद्ध नागरिकका ६ लाख बढी व्यक्ति नागरिकता पाउनबाट वञ्चित भएको उनले बताए । नयाँ नागरिकता ऐन नबनेका कारण यस्तो भएको भन्दै उनले मधेसमा मात्र नभई पहाड र हिमालमा पनि यो समस्या रहेको उल्लेख गरे ।

‘दुई पटक नागरिकता विधेयक पास गरेर राष्ट्रपति समक्ष पठाउँदा पहिलो पटक फिर्ता पठाइयो । दोस्रोपटक पुनः त्यो विधेयकमा लालमोहर लागेन, आखिर किन लागेन ? यो कसले गराएको हो ? राष्ट्रपतिको ‘भिटो’ अधिकारबारे यो संसद्मा बहस हुन जरुरी छ’, उनले भने ।

उनले अदालतमा पनि दोहोरो चरित्र हाबी भएको जिकिर गरे । अदालतको बेन्च पनि पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले ६ लाख व्यक्तिले अदालतमा मुद्दा हाल्न सम्भव नभएको तर्क गरे । प्रमुख जिल्ला अधिकारीले पनि नागरिकता दिन आनाकानी गरेको भन्दै उनले नेपाली नागरिकका सन्तानलाई किन अनागरिक बनाएको भन्दै प्रश्न उठाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७