कञ्चनपुर औद्योगिक ‘हब’ का रुपमा विकास हुन्छ : उद्योगमन्त्री भण्डारी


५ फाल्गुन २०७९, शुक्रबार
MahadevAvasthi Dodharachandani RSS scaled
कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित छेला औद्योगिक क्षेत्रबारे जानकारी लिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ।

कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुर जिल्ला औद्योगिक ‘हब’का रुपमा विकास हुने बताएका छन् ।

कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उनले औद्योगिक क्षेत्र निमार्णको काम दु्रत गतिमा अगाडि बढेकाले केही समयपछि कञ्चनपुर औद्योगिक हबका रुपमा विकास हुन लागेको बताए । ‘छेला औद्योगिक क्षेत्रको कामलाई प्राथमिकतामा राखेर अगाडि बढाएका छौं’, मन्त्री भण्डारीले भने, ‘दुई-तीन दिनभित्रै यहाँ कार्यालय स्थापना गर्ने तयारीमा छौँ ।’ उनले दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण पनि अन्तिम चरणमा पुगेको बताए ।

‘हाम्रो सुक्खा बन्दरगाहदेखि भारतको औद्योगिक सहर ८५ किलोमिटरको दूरीमा मात्रै छ’, उनले भने, ‘व्यापार पारवहनका हिसाबले यो सुक्खा बन्दरगाह महत्वपूर्ण छ ।’ गत सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुक्खा बन्दरगाहको निरीक्षण गरेका थिए ।

दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास भएको दुई वर्ष पुग्दा समेत भौतिक पूर्वाधार निमार्ण हुन सकेको छैन । अहिले डिभिजन वन कार्यालय कञ्चनपुरले औद्योगिक क्षेत्रमा रुख छपानको काम गरिरहेको छ । औद्योगिक क्षेत्र निर्माणका लागि रु नौ अर्ब खर्च हुने अनुमान छ ।

उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजार व्यक्तिले रोजगारी पाउनेछन् । एक सय औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याइएको छ । यो औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भएर उद्योग सञ्चालनमा आए सुदूरपश्चिमकै आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७