जलवायु परिवर्तनबारे मानवशास्त्रीय दृष्टिकोण


११ बैशाख २०७५, मंगलवार
pramesh pokhrel

प्रमेश पोखरेल

विश्वका ग्रामीण तथा शहरी क्षेत्रमा वसोवास गर्ने निम्न आय भएका किसान, श्रमिक, आदिवासी तथा जनजाति लगायतका समुदाय जलवायु परिवर्तनको चपेटामा परेको समयमा मानवशास्त्रको ध्यान पनि त्यसतर्फ आकर्षित हुनु स्वभाविकै हो ।मानवशास्त्रीहरु जुनसुकै क्षेत्र र समुदायमा पुग्दा पनि त्यहाँका स्थानीय जनताद्वारा जलवायु र मौसम सम्बन्धि छलफल र गुनासाहरु सुन्नुपर्ने क्रम तिव्र हुँदैजाँदा जलवायु परिवर्तनबारे मानवशास्त्रीय दृष्टिकोण के हो ? र यसमा मानवशास्त्रीे संलग्न हुनुहुन्छ या हुँदैन भन्ने सम्वन्धमा विभिन्न विचारहरु अगाडि आएका छन् । अहिले मानवशास्त्र विषय भर्खरै अलग विषयको रुपमा नेपालमा पठनपाठन सुरु भएको परिपे्रक्ष्यमा यसको सान्दर्भिकता र नेपालमा महत्वबारे चर्चाको ज्वलन्त विषय बनेको छ । अझ जलवायु परिवर्तन जस्ता उदाउँदा समस्याबारे यस विषयको दृष्टिकोण र यिनीहरुको भूमिकाको विष्लेषण सान्दर्भिक रहला ।

pramesh pokhrel
जलवायु परिवर्तनको विषयमा मानवशास्त्रीको संलग्नता र मानवशास्त्रीय ज्ञानको आवश्यकता पुष्टि गर्न केही तर्कहरु अघि सारिएका छन् । यसमध्ये पहिलो तर्क के छ भने मानवशास्त्रको केन्द्रविन्दु संस्कृति हो र जलवायु परिवर्तनका कारण अहिले समाज र संस्कृति पनि परिवर्तन हुँदैछ । त्यसैले सास्कृतिक अध्ययनमा जलवायु परिवर्तनको बुझाइ अति महत्वपूर्ण रहन्छ । यसैको माध्यमबाट सामाजिक सास्कृतिक परिवर्तन, अनुकुलन, आत्मीकरण तथा आधुनिकीकरणलाई व्याख्या गर्दा मानवशास्त्र पूर्ण हुुन्छ । त्यसैले मानवीय व्यवहार, जीवन पद्धति र पर्यावरणीय सम्बन्धको मानवशास्त्रीय विष्लेषण जलवायु परिवर्तनको बुझाई विना संभव छैन । यस अर्थमा सास्कृतिक अध्ययनमा जलवायु परिवर्तनको बुझाई र यसमा मानवशास्त्रीय दृष्टिकोण महत्वपूर्ण छ ।
जलवायु परिवर्तनको विषयमा मानवशास्त्रीय संलग्नताबारेको दोस्रो तर्क के छ भने, मानवशास्त्रको केन्द्र पिछडिएका जाति, समुदाय, आदिवासी, जनजाति, प्राचीन समाज आदि हुन् । यी समुदाय जो प्रकृतिमा बढी निर्भर रहने हुँदा पारिस्थितिक प्रणालीका महत्वपूर्ण अंग हुन् र पारिस्थितिक प्रणालीको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्दछन्, तिनै समुदाय आज सबैभन्दा बढी जलवायु परिवर्तनको चपेटामा परेका छन् । त्यसैले पनि कार्यक्षेत्र अध्ययन गर्ने मानवशास्त्रीहरु आप्mनो कार्यक्षेत्रका समुदायले झेलिरहेको सबै भन्दा भयानक र ज्वलन्त सवालवारे केही बोल्नै पर्छ । अझ ती समुदायका सवालको जवाफ मानवशास्त्रीय हुनु आवश्यक छ । त्यसैले पनि जलवायु परिवर्तनबारे मानवशास्त्रीय दृष्टिकोण र यसमा मानवशास्त्रीको भूमिकाबारे स्पष्ट हुनु आवश्यक छ ।
जलवायु परिवर्तनका सवालमा मानवशास्त्रीय संलग्नता आवश्यक रहेको अर्काे तर्क के हो भने जलवायु परिवर्तको कारण र समाधान मानवीय व्यवहारसँग सम्बन्धित छ । सामूहिक र सामुदायिक व्यवहारको अध्ययन गर्ने विषय भएकोले पनि जलवायु परिवर्तनसँगको अनुकूलन र हरित गृह ग्याँसको उत्सर्जन कम गर्ने कार्यमा सबैभन्दा महत्वपूर्ण संलग्नता मानवशास्त्रीको रहन्छ । जलवायु परिवर्तनका विभिन्न कारण मध्ये उपभोक्ताको संस्कृति र विलासिताका व्यवहार पनि एक हो । किनभने यिनै व्यवहारका कारण हुने हरितगृह ग्याँसको बढी उत्सर्जन पनि जलवायु परिवर्तनको समस्या सृजन गर्ने कारण हो । त्यसैले यसको विश्लेषणमा मानवशास्त्रीय ज्ञानको आवश्यकता पर्दछ ।
विकसित देशका नागरिक तथा उपभोक्ताको संस्कृति र विलासिताका व्यवहारका कारण हुने प्राकृतिक स्रोतको विनाश र हरितगृह ग्यासको उत्सर्जनले गर्दा पनि जलवायु परिवर्तन भएको तर्क छ । जलबायु परिवर्तन मानवीय क्रियाकलापको कारण भएको हो र सबै प्रकारले मानिसले यसलाई रोक्न सक्छन् । जसको लागि मानवीय व्यवहार र सोचाइमा परिवर्तन आवश्यक पर्दछ । मानवीय व्यवहार र सोचाइको व्यवस्थित र बैज्ञानिक अध्ययनको एकमात्र विषय भएकोले पनि जलवायु परिवर्तन अनुकूलन र हरितगृह ग्यास उत्सर्जन कमि गर्नमा मानवशास्त्रीय ज्ञानको आवश्यकता पर्नेछ । त्यसैगरी जलवायु परिवर्तन अनुकूलन प्रक्रियामा स्थानीय ज्ञान, सिप र व्यवहार महत्वपूर्ण मानिन्छ । त्यसैले समुदाय सापेक्ष र जनकेन्द्रित स्थानीय अनुकुलनका अभ्यासको खोजी, अध्ययन र अनुसन्धानमा मानवशास्त्रको महत्वपूर्ण देन रहन्छ ।
जलवायु परिवर्तन नयाँ विषय हो र यसमा अध्ययन अनुसन्धान र दृष्टिकोणहरु विकास हुने क्रममा छन् । जलवायु परिवर्तनसम्बन्धि अझ बृहत र स्थानीय स्तरका धेरै अध्ययन र अनुसन्धानको आवश्यकता छ । यस सम्बन्धी अझ बृहत् अध्ययन अनुसन्धान गरी यसका प्रभाव, अनुकूलन र यस सम्बन्धी दृष्टिकोणहरु विकास गर्नका लागि पनि यस विषयमा मानवशास्त्रीय संलग्नता अर्थपूर्ण रहन्छ ।
अहिलेको जलवायु परिवर्तन मानवीय कारण भए पनि मानव उत्पत्ति र विकासको क्रममा यस्ता परिवर्तनहरु धेरै पटक भएका छन् । मानव उत्पत्ति र विकासको सन्दर्भमा यी परिवर्तनलाई वरफ युग भनिन्छ । विभिन्न वरफ युग र अन्तर बरफयुगको अध्ययन र त्यसको मानव विकासमा परेको प्रभाव अध्ययन अनुसन्धानबाट जसरी मानवशास्त्रमा मानव उत्पति र विकासलाई वुझ्न सहयोग पुग्दछ ठिक त्यसैगरी अहिलेको जलवायु परिवर्तनलाई व्याख्या विश्लेषण गर्न साथै अनुकूलनको प्रकृयामा आवश्यक प्राग ऐतिहासिक अध्ययनका निम्ति पनि मानवशास्त्रको महत्वपूर्ण भूमिका हुन्छ ।
अझ महत्वपूर्ण तर्क के भने मानवशास्त्र विषय र जलवायु परिवर्तन दुवैको इतिहासको प्रारम्भ र विकासक्रम एक आपसमा अन्र्तसम्वन्धित छ । त्यसैले शक्तिशाली वा विकसीत भनिएका देशले कम विकसीत देशका सो्रत साधनहरुमाथि एकाधिकार कायम गर्ने तथा ती सो्रतको मनलागी दोहन गर्ने क्रममा जलवायु परिवर्तनको समस्या उब्जिउझै त्यसै समयमा शक्तिशाली वा विकसित भनिएका देशले कम विकसित देशका समाज, संस्कृति र राष्ट्रलाई उपनिवेश वनाउने र ती समुदायकोे अध्ययन गर्ने क्रममा मानवशास्त्रको जन्म भयो । त्यसैले साम्राज्यवाद, विस्तारवाद, औपनिवेशीकरण र पुँजीवाद जस्ता राजनीतिक विषयको ऐतिहासिक व्याख्याले मात्र जलवायु परिवर्तनलाई बुभ्mन सहयोग गर्दछ । अझ भन्ने हो भने दुवै विषय विश्व राजनीतिको अध्ययनविना संभव छैन र यसको विष्लेषणमा मानवशास्त्रको भूमिका रहन्छ ।
जलवायु परिवर्तन न्याय र अधिकारको सवाल पनि हो विश्वका ती जनता जो यो परिवर्तनको निम्ति जिम्मेवार नै छैनन् वा सबैभन्दा कम जिम्मेवार छन् ती जनता नै यो प्रक्रियाबाट सबैभन्दा बढी प्रताडित छन् । ती समुदाय मानवशास्त्रका केन्द्र हुन् । त्यसैले पनि न्याय, समानता, र सिमान्तीकृत समुदायको अधिकार र उत्थानका लागि पनि मानवशास्त्रीय संलग्नता महत्वपूर्ण छ ।
त्यसैले जलवायु परिवर्तन सम्बन्धी जिज्ञासा समाधान गर्न र स्थानीयस्तरका समस्या निराकरण गर्न मानवशास्त्रको जलवायु परिवर्तन सम्बन्धी संलग्नता महत्वपूर्ण भइरहेको छ । त्यतिमात्र होइन अझ जलवायु परिवर्तन, अनुकूलन र क्षमता अभिबृद्धिको क्रममा स्थानीय, दिगो र जनस्तरीय प्रतिक्रियाहरुको लागि मावशास्त्रीय संज्ञानको महत्व रहन्छ । जलवायुसँगै संस्कृति र रहनसहनमा आएको परिवर्तन र यसका प्रभाव पनि मानवशास्त्रीका लागि नैतिक र व्यवसायिक सवालको रुपमा देखिएका छन् । राजनीतिज्ञ, मानवशास्त्री मात्र होइन अहिले जलवायु परिवर्तन सबै क्षेत्र विषय र संप्रदायको बहस र छलफलको विषय बनेको छ त्यसैले अझ मानवशास्त्रलाई व्यवहारिक वनाउने, सार्वजनिक हितका प्रयोग गर्ने, अधिकारकर्मीको दृष्टिले हेर्दा वा मध्यस्थता वा सहजकर्ताको भूमिका निर्वाह गर्न पनि, यस सम्बन्धी बहसमा मानवशास्त्रीय जिम्मेवारी र यी प्रश्नसँग सम्बन्धी बृहत् सैद्धान्तिक अवधारणाको आवश्यकता देखिन्छ ।
नेपालको सन्दर्भमा पनि जलवायु परिवर्तनले आदिवासी जनजातिको संस्कृति तथा संज्ञान विनाश गर्दैछ । उदाहरणको लागि कृषि क्षेत्रका हाम्रा परम्परागत बिउबिजन, खेती अभ्यास तथा परम्पराहरु लोप हुदैछन् । हावापानी र मौसमको परिवर्तनसँगै लवाइ खवाइ मात्र होइन स्रोतको उपलब्धता र जैविक परिवेशमा समेत आउने परिवर्तनले संस्कृतिको विनाश गर्दैछ जसले गर्दा आदिबासी जनजातिको आफ्नो पहिचान गुम्ने क्रम छ । अर्कोतर्फ पूँजीवादको फैलावटका कारण स्थानीय माथि बाह्य वजारको प्रभाव बढ्ने छ । अझ प्राकृतिक स्रोतमा निर्भर कृषक, अल्पसंख्यक तथा पिछडिएका माझी, पशुपालक, घुमन्ते आदि समुदायको जीवनमा जलवायु परिवर्तनले प्रत्यक्ष प्रभाव पार्ने हुँदा मानव बसाइसराई तीव्र बन्ने छ । अनावृष्टि, अतिवृष्टि, अतिहिमपात, हिमताल विस्फोट, हिमशृंखलाको क्षयीकरण, दुर्लभ प्राणी तथा वनस्पतिको लोपको खतराहरु मात्र होइन जीवाणुहरुको परिवृत्ति हुँदै नयाँ र घातक रोगहरुका जीवाणुहरु उत्पत्ति हुनु र खडेरीका कारण मरभूमिकरण हुनुले बसोेवासको ढाँचामा परिवर्तन ल्याउँदै छ । जलवायु परिवर्तनका कारण हिमशृंखलाका खाली उजाड पहाड बन्ने डर छ । प्रकृतिका मनोरम र दुर्लभ सम्पदा नष्ट हुने र नेपालजस्तो हिमाल आरोहण, र्याफ्टिङ, गैंडा सफारी आदिका लागि प्रसिद्ध पर्यटन गन्तव्य हिमालको हिउँ पग्लनाले, हिमनदी सुक्नाले र दुर्लभ जीवजन्तु लोप हुनाले प्रभावित बन्दा आर्थिक क्षेत्रमा समेत ठूलो असर पर्न सक्छ । जलवायु परिवर्तनले होटल व्यवसाय पनि प्रभावित हुनेछ । नेपालमा प्रायजसो पर्यटकका लागि बनेका होटल अग्लो ठाउँ वा नदी छेउछाउको मनोरम प्रकृतिमय वातावरणमा भएकाले प्राकृतिक प्रकोपको दृष्टिले त्यस ठाउँ बढी प्रभावित हुनेछ । पर्यावरणीय विनाशले यसको सौन्दर्यमा प्रभाव पार्दा पर्यटन प्रभावित हुने छ ।

जलवायु परिवर्तनले सांस्कृतिक पर्यटनलाई पनि कम असर पार्नेछैन । चाहे त्यो आदिवासी जनजातिको संस्कृति होस् वा कुनै मठ–मन्दिर वा पुरातात्विक सम्पदा, जलवायु परिवर्तनले त्यसलाई विनाश गर्नेछ । हावापानी र मौसमको परिवर्तनसँगै संस्कृतिमा आउने परिवर्तनले संस्कृतिको विनाश गर्नेछ र आदिवासी जनजातिको आफ्नो पहिचान गुम्ने छ भने अम्लिय वर्षा तथा अन्य प्रकोपले पुरातात्विक र सास्कृतिक सम्पदा विग्रनेछन् । अझ प्राकृतिक स्रोतमा निर्भर कृषक, अल्पसंख्यक तथा पिछडिएका माझी, पशुपालक, घुमन्ते समुदाय आदि समुदायको जीवनमा यसले प्रत्यक्ष प्रभाव पार्दछ जसले गर्दा मानवशास्त्रीय तथा प्राज्ञिक पर्यटन प्रभावित हुने छ । जलवायु परिवर्तनले जोखिमका लागि गरिने (ब्मखभलतगचभ ) पर्यटन पनि पानीका मुहान सुक्दा या हिउँ पग्लदा घट्नेछ । नेपालमा मुख्यगरी सांस्कृतिक र प्राकृतिक पर्यटकको संख्या बढी आउने हुँदा यसले पर्यटन क्षेत्रमा प्रभाव पार्ने छ । हिमाल आरोहण, प्राकृतिक सुन्दरता, साँस्कृतिक सम्पदा जस्ता पर्यटनका केन्द्र जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित हुनेछन् । पर्यटनका पूर्वाधार, पर्यटकको गन्तब्य सम्बन्धी धारणा लगायत पर्यटनको जोखिमतामा जलवायु परिवर्तनको प्रभाव रहन्छ । हिमालै नरहे हिमाल चढ्ने कुरै भएन हिमनदी सुकेर गए र्याफ्टीङ कहाँ गर्ने, बाढी र पहीरोको जोखिमताबीच कसरी ट्रेकिङ जाने । त्यसैले हरेक क्षेत्रमा जलवायु परिवर्तनको अत्यन्त नकारात्मक प्रभाव रहनेछ । यी सव मानवशास्त्रका मुलभूत सवाल हुन जसमा मानवशास्त्रीले अध्ययनमा मात्र होइन अनुकुलनमा समेत महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।
जलवायु परिवर्तनले कृषि, पर्यटन, मानव विकास, अर्थतन्त्र, समाज, संस्कृति, राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा लगायतका विभिन्न क्षेत्रमा प्रभाव पारिरहँदा मानवशास्त्र विषयलाई अझ बढी व्यवहारिक र जनउपयोगी विषयको रुपमा विकास गर्न पनि मानवशास्त्रीकोे जलवायु परिवर्तन जस्ता विषयमा रहने संलग्नताले मानवशास्त्रीय संज्ञानको क्षितिजलाई व्यापक बनाउन र ती पिछडिएका आदिबासी र सिमान्तीकृत समुदायको हित र कल्याणमा सहयोग पुग्ने छ ।
जलवायु परिवर्तनले हामीलाई सिकाउँदैछ कि संसारमा मानवीय आवश्यकताको नाममा गरिएको वस्तु तथा सेवा उत्पादनको प्रभुत्वशाली प्रक्रियामा खरावी छ । नाफाको खोजी र व्यापारमा टिकिरहने महत्वकांक्षाले हाम्रो पृथ्वी र जीवनलाई संकटमा पारेको छ । आज शक्तिमा भएका व्यक्तिको अनुत्तरदायित्व र स्वार्थका कारणले संसारका मानिसहरु पीडित छन् । किनकि हरितगृहग्याँसको उत्सर्जनमा यिनीहरुनै प्रमुख रुपमा दोषी छन् । त्यसैले जलबायु परिवर्तनले हामीलाई व्यक्तिगत र सामूहिक उत्तरदायित्वको बोध गराएको छ । यो तितो यथार्थ हो कि हामी व्यक्ति नभई जाति हौं, विभिन्न आर्थिक वर्गमा बाँडिएका, वातावरणबाट अलग्गिएका जाति । त्यसैले पृथ्वी विगार्ने जो भएपनि भोग्ने हामी सबै हौं । जलवायु परिवर्तन प्रकृतिको यो चुनौती हो कि मानव प्रजाती पृथ्वीको स्पष्ट संरक्षक हुन असफल भयो त्यसैले उसले आफ्नो कार्य र गल्तीको असर सामूहिक रुपमा भोग्ने छ, हामी सबैले भोग्ने छौं । समयमै बानी व्यवहार सच्याएनौं भने । मानवशास्त्र मानिसको व्यवहार र संस्कृतिको विज्ञान हो ।
जलवायु परिवर्तनको असर हरेक क्षेत्र र समुदायमा परेको छ त्यसैले यसको समाधान बहुआयामिक र समग्रताको दृष्टिकोणबाट मात्र सम्भव छ । वातावरण विज्ञान र अन्य सामाजिक विज्ञान भन्दा बहुआयामिक, सामान्य र समग्रताका विधि प्रयोग गर्ने एकमात्र विषय मानवशास्त्र हो र यस सन्दर्भमा यो विषयको भूमिका समन्वयकारी र मार्गनिर्देशक रहन्छ । त्यसैले पनि मानशास्त्रीय संलग्नता आवश्यक छ ।
जलबायु परिवर्तन मानवीय क्रियाकलापको कारण भएको हो । त्यसैले सबै प्रकारले मानिसले यसलाई रोक्न सक्छन् । तर जलबायु परिवर्तन रोक्न व्यवस्थित र बैज्ञानिक परिवर्तनको आवश्यकता पर्नेछ । जलवायु परिवर्तन सम्बन्धी भएका सत्रवटा विश्वसम्मेलनले विषयवस्तुमा ध्यानाकर्षण गरेता पनि समस्याको दीर्घकालीन समाधान गर्ने कुरा भने अझै अपूर्ण रहने सम्भावना छ । हाम्रो देशमा पनि समयमानै सचेत भई उपयुक्त कदम चाल्नु आवश्यक छ । नत्र एउटा ठूलो प्राकृतिक प्रकोप र आर्थिक संकटको चपेटामा हामी पर्न सक्छौं । त्यसका लागि विकसित देशले हरितगृह ग्याँसहरु GHGs को निस्कासनमा जोडदार कमी ल्याउनु पर्नेछ । वस्तु तथा सेवाको उत्पादनको पद्दतिमा ठूलो परिवर्तन ल्याउनु पर्नेछ । हामी जलबायु परिवर्तनलाई रोक्न सक्छौं तर हामीले भर्खरै त्यसतर्फ लाग्न शुरु गर्नुपर्दछ ।
(पोखरेल त्रिवि अन्तरगत मानवशास्त्र प्राध्यापन गर्नुहुन्छ)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७