नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कैलाली कारागारबाट रिहा

डिल्लीबजार कारागारबाट आठ कैदी छुट्दै


७ फाल्गुन २०७९, आईतवार
Arun chaudhary 2 1024x718 1

कञ्चनपुर । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी कैलाली कारागारबाट आज (आइतबार) रिहा भएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफी सूचीमा सांसद चौधरीको पनि नाम समावेश भएपछि उनी रिहा भएका हुन् । उनीसहित कैलाली कारागारबाट चार जना रिहा भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी हुन् । रिहा भएलगत्तै उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् । पार्टीका अन्य नेता, कार्यकर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाइदिएका थिए ।

चौधरीलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो । तर उनले कैद भुक्तान भने गरेका थिएनन् । गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका थिए ।

डिल्लीबजार कारागारबाट आठ कैदी छुट्दै
राष्ट्रपतिबाट आम माफी पाएका आठ जना कैदी डिल्लीबजार कारागारबाट रिहा हुँदै छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका ८ जनालाई छाड्ने प्रक्रिया भइरहेको डिल्लीबजार कारागारका प्रशासक मात्रिका आचार्यले जानकारी दिए ।

डिल्लीबजार कारागारबाट देविन्द्र कार्की, निखिल पराजुली, टेकबहाचदुर तामाङ, दिनेश खत्री, दीपक नारायण नकर्मी, अर्पण सुनुवार र निरन तामाङ नरबहादुर लामा छुट्ने भएका छन् । उनिहरुमध्ये ५ जना कर्तव्य ज्यान मुद्दामा, १ जना सवारी ज्यान, एक जना कीर्ते र १ जना लिखतसम्बन्धी कसुरमा जेल परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७