१५ लाख ‘बुस्टर डोज’ खोप प्राप्त, प्राथमिकतामा को ?


११ फाल्गुन २०७९, बिहीबार
korona khop 1

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको १५ लाख ‘बुस्टर डोज’ खोप ५५ वर्षमाथिको उमेर समूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक र अग्रपंत्तिमा खटिनेहरूलाई लगाउने भएको छ ।

गएको सोमवार कोरोनाविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको हो । खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड–१९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने काम सुरु भएको पनि जानकारी दिए । उनले पहिलो मात्रा खोप नलगाएका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी रहेकाहरूलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको बताए ।

सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरूमा उपलब्ध हुने गरी समन्वय गरिसकेको उल्लेख गर्दै आफ्नो परिचय खुल्ने कागजात लिएर खोप केन्द्र गएर सहजै खोप लगाउन सक्ने बताए । उनले खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी रहेकाहरूलाई खोप लगाइदिन आग्रह समेत गरे । आजदेखि काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन सुरु गरिएको छ ।

सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोरोनाविरुद्धको खोप पहिला भएको सङ्क्रमण र अहिले फैलिरहेको सङ्क्रमण दुवैको हिसाबले प्रयोग गर्न मिल्ने बताए । उनले यो खोप विगतमा जुनसुकै खोप लगाएको भए पनि बुस्टर डोजका रूपमा लगाउन मिल्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७