ओलीद्धारा प्रस्तावित माधव नेपाल राष्ट्रपति बन्ने सम्भावना बलियो


२०७९ फाल्गुण ११ बिहीबार ११:२१ बजे

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार नै राष्ट्रपति बन्ने सम्भावना बलियो भएर गएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार बालुवाटारमा भेटेर ओलीले पार्टीका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरेका थिए ।

एमाले अध्यक्ष ओलीले गत शनिबार अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए । गत शनिबार पूर्वमन्त्री तथा समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)को महाराजगन्जस्थित निवासमा दुई नेताबीच छलफल भएको थियो । यो छलफलपछि बुधबार अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई औपचारिक रुपमा आफ्नो पार्टीको तर्फबाट अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्ताव गरेका थिए ।

अध्यक्ष ओलीको प्रस्तावपछि अध्यक्ष नेपालले पनि प्रधानमन्त्री दाहाल सहित, अन्य दलका नेताहरुसँग छलफल गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री दाहाललाई विहिबार भेटेर आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव राखेका थिए । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा नेपालले प्रचण्डलाई आफू नै सहमतिमा राष्ट्रपति उम्मेदवार हुनुपर्ने बताएको एक नेताले बताए ।

जवाफमा प्रधानमन्त्री दाहालले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन आफू तयार रहेको भए पनि अरू दलसँग छलफल गर्नुपर्ने बताएका थिए । भेटवार्तामा माओवादीका तर्फबाट उपप्रधानमन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीबाट घनश्याम भुसाल पनि सहभागी थिए ।


नेपाललाई अघि सार्ने तीन दलको सहमति
यो बैठक लगत्तै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीवीच बैठक बसेको थियो । बैठकमा अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तर्फ छलफल केन्द्रीत भएको एक नेताले बताए । सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बिहीबार साँझ बसेको तीन दलको बैठकमा अध्यक्ष नेपाललाई राष्ट्रपतिका रूपमा अघि सार्न सहमति भएको एक नेताले बताए ।

विहिबार साँझ ६ बजे कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक बस्ने तयारी थियो, तर समय अभावका कारण भोलि शुक्रबार ८ बजेका लागि सारिएको छ । यो बैठकमा अध्यक्ष नेपाललाई राष्ट्रपतिका उम्मेदवार बनाउने प्रस्ताव राखिने एक नेताले बताए ।

बैठकपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनका सम्बन्ध शुक्रबार अध्यक्ष ओलीसँग छलफल गर्ने बताए । पत्रकारले राष्ट्रपति कसले पाउने भयो ? भनी सोधेको प्रश्नमा प्रचण्डले भने, ‘छलफल चलिराख्या छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्षसँग पनि भेट्छु ।’


ओलीको तयारी
नेपालको नाममा कांग्रेस सहमत नभए माओवादीसहित अरू दलको मत जुटाएर जिताउने अध्यक्ष ओलीको योजना छ । यो विकल्प सफल नभई कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको अवस्थामा नेकपा एस, रास्वपा, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता पार्टी, नेमकिपा र केही स्वतन्त्र सांसदहरूको समेत समर्थन जुटाएर भए पनि नेपाललाई राष्ट्रपति बनाउने गरी ओलीले गृहकार्य गरिरहेको एमाले स्रोतको दाबी छ ।

कांग्रेसको तयारी
नेपाली कांग्रेसले भने राष्ट्रपति जसरी पनि लिने रणनीति बनाएको छ । त्यसको लागि अध्यक्ष नेपाललाई निश्चित अवधि प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७