मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति


१२ फाल्गुन २०७९, शुक्रबार
melamchi 20
फाइल फोटो

काठमाडौं । मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ ।

खासगरी उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ । खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएका छन् । खाल्डाखुल्डी देखिएपछि टालिहाल्ने गरिएको भए पनि त्यस आसपासमा नयाँनयाँ चुहावट देखिरहेको देख्न सकिन्छ ।

पानी चुहावटका कारण सडकमा क्षति पुगेका ठाउँमा समन्वयमा मर्मत पनि भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कुनैकुनै भइसकेको र कतै भइरहेको डिभिजनका सूचना अधिकारी सुमित केसीले बताए । उनका अनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पहिले पुनः स्थापना (खाल्डाखुल्डी पुर्ने काम) गरेपछि नै त्यहाँको सडक मर्मत गरिने गरिएको छ ।

लिमिटेड र कतैकतै आयोजना कार्यान्वयन निर्देशनालयले पुनःस्थापना गर्दा राम्रो काम नभएर दबिएकाले पुनः काम गर्न लगाइएको उनले बताए । ती निकायले तत्काल पुनः स्थापना गरेमा छिट्टै सडक बनाइने गरिएको उनले बताए । सडकमा पानी जमेर कमजोर भइरहेको र यसले सडकमा पछिसम्म बिग्रन सक्ने सूचना अधिकारी केसीले जानकारी दिए । टालटुल गरेपछि पनि सडक पहिलेको जस्तो बलियो अझै नहुने उनले बताए । ललितपुर र भक्तपुरका तुलनामा काठमाडौँका सडकमा बढी क्षति पाइएको छ ।

डिभिजनले हेरिरहेको सडकमध्ये ९० प्रतिशत स्थानमा खाल्डाखुल्डी टालिसकिएको सूचना अधिकारी केसीले बताए । उनका अनुसार गत वर्षहरुभन्दा यस वर्ष वर्षा कम खाल्डाखुल्डी हुने गरी अहिलेदेखि नै मर्मत अघि बढाइएको हो । उनले भने, ‘देखेसम्म काम भइरहेको छ, तर पानी र चुहावटले कति खाल्डा हुन्छ भन्ने थाहा हुँदैन ।’

जोरपाटी–सुन्दरीजल सडकमा धेरै पाइपलाइनमा चुहावटको समस्या आइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजनाले बनाउनासाथ लिमिटेडले सडक खन्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । चुहावट आज एक ठाउँमा देखिएर बनाउँदा अर्काे दिन अर्काे ठाउँमा समस्या देखिइरहेको उनले बताए । उनले भने, ‘कतै सडकमै पाइपमा त कतै घरघरसम्म जाने पाइपमा समस्या देखिरहेको छ ।’

अहिले हरेक सडकमा नै चुहावटको समस्या रहेको सूचना अधिकारी जोशीले बताए । नख्खुबाट भैँसेपाटी सडक, सातदोबाटो–गोदावरी सडक, चावहिल–साँखु र भक्तपुर गरी निर्माणाधीन वा भर्खर कालोपत्र भएका सडक क्षति पुगिरहेको उनले बताए । उनले भने, ‘अहिले त विद्युत्को तार अण्डरग्राउण्ड गर्न पनि खन्ने काम भइरहेको छ ।’

सडकमा पूर्वाधार रहेका निकायका बीचमा समन्वयको कमी हुँदा उपत्यकाका सडकमा खाल्डाखुल्डी भएको भन्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै समन्वयका लागि काम सुरु गर्नुभएको छ । नियमित समन्वयका लागि संयन्त्र बनाएको छ भने नियमित अनुगमन र बैठक भइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७