दिलीप महतोकाे हत्या गरेका दुई क्रसर उद्योगीलाई जनही २५ र मतियारलाई साढे १२ बर्ष कैद


२०७९ फाल्गुण १२ शुक्रबार ०६:५८ बजे

काठमाडौं । धनुषाका पर्यावरण अभियान्ता दिलीप महत्तोको हत्या घटनामा दोषी ठहर भएका तीन जनालाई कैद फैसला सुनाइएको छ । महतोको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५–२५ वर्षको कैद सजाय सुनाइएको छ । अवैध उत्खननको विरोध गर्दा दिलीपको हत्या गरेको कसुरमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र मुनिन्द्रलाई २५–२५ वर्ष जेल र ५–५ लाख रुपैंयाँ क्षतिपूर्ति जरिवानाको फैसला सुनाएको हो ।

यस्तै हत्यामा संलग्न (मतियार) जितेन्द्रलाई भने साढे १२ वर्ष कैद सजाय सुनाइएको छ । गत फागुन २ गते अदालतले विपिन र मुनीन्द्रलाई दिलीपको मनसायपूर्वक हत्या गरेकामा दोषी ठहराइएको हो भने जितेन्द्रलाई हत्याको मतियार भएकामा कसुरदार ठहराए पनि शुक्रबार मात्र फैसला निर्धारण भएको हो । जितेन्द्रलाई भने साढे २ लाख क्षतिपूर्ति तोकिएको हो । जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेतका अनुसार अभियुक्तहरूले आर्थिक अभावका कारण क्षतिपूर्ति दिन नसक्ने अवस्थामा पीडित राहत कोषबाट भए पनि क्षतिपूर्ति भराउने अदालतको फैसला छ ।

हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार महतोले भने सफाइ पाएका छन् । घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा दिलीप भनिने ओमप्रकाश महतोको २०७६ पुस २५ मा हत्या भएको थियो ।

अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको थियो । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न बिहान ४ बजे खोलामा पुगेका बखत दिलीपको हत्या भएको थियो ।

उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनीन्द्र र जितेन्द्रसहितका सात जनाले दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रुरतापूर्वक प्रहार गरेर हत्या गरेको सरकारी वकिलको दाबी छ । जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा आक्रमणपश्चात् बेहोस भएर ढलेका दिलीपलाई ना ७ ख ६४१३ नम्बरको टिपरको पछाडि चक्काले टाउकोमा किचेर सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको उल्लेख छ ।

त्यसरी क्रुरतापूर्वक हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय हुने कानुनी व्यवस्था छ । सरकारी वकिलले उनीहरू सातै जनालाई आजीवन कारावासको सजाय माग गरेका छन् । भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका दिलीप अन्तिम सेमेस्टरको परीक्षा दिएर घर आएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७