बालुवाटारबाट ओली बाहिरिए लगतै कांग्रेस नेताको प्रवेश


२०७९ फाल्गुण १२ शुक्रबार ०८:१० बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एमालेका अध्यक्ष केपी ओलीको वार्ता गरेर बाहिरिए लगत्तै नेपाली कांग्रेससहित चार दलका नेताहरू बालुवाटार प्रवेश गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न ओली प्रतिनिधिसभा बैठकपछि बालुवाटार पुगेका थिए ।

ओली बालुवाटारबाट निस्किए लगत्तै कांग्रेसका महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री दाहालसँग वार्ताका लागि बालुवाटार पुगेका हुन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहमतिका लागि नै छलफलका लागि आफूहरु आएको कांग्रेसका उपसभापति खड्काले बताए ।

बैठकमा सहभागी हुन भर्खरै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरु समेत बालुवाटार पुगेका छन् । गत मंसिर ४ को निर्वाचनअघि एउटै गठबन्धनमा रहेका यी चार दल अब राष्ट्रपति निर्वाचनमा फेरि एक ढिक्का हुनेबारे छलफलमा छन् । शुक्रबार बिहानमात्रै चार घन्टासम्म छलफल गरेका नेताहरुले अहिले साँझ बस्ने बैठकबाट राष्ट्रपतिमा साझा उम्मेदवार तय हुने बताएका छन् ।

शुक्रबार विहानको छलफलपछि कांग्रेस महामन्त्री गगन थापाले शुक्रबार साँझको बैठकबाट साझा उम्मेदवार तय गर्ने दाबी गरेका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।
बालुवाटार स्रोतका अनुसार अध्यक्ष ओलीले भने दाहाललाई पुस १० गतेको सहमति पालना गर्न तथा राष्ट्रपतिमा एमालेलाई सघाउन आग्रह गरेका थिए ।

साथै प्रधानमन्त्रीसँग ओलीको वार्ता निष्कर्षमा नपुगेको बताइएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका शीर्ष नेताहरूले भेटघाट तीव्र बनाएका छन् । बुधबार १३ गते मनोनयन दर्ता गरिसक्नु पर्नेमा कुनै दलले पनि उम्मेदवारको औपचारिक घोषणा गरिसकेका छैनन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७