दक्षिण अफ्रिका पहिलोपल्ट टी–ट्वान्टी महिला विश्वकप क्रिकेटको फाइनलमा


१३ फाल्गुन २०७९, शनिबार
South Africa Women

काठमाडौं । आयोजक दक्षिण अफ्रिका जारी आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो सेमिफाइनल खेलमा पुर्वविजेता इङल्याण्डलाई ६ रनले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो । केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको इङल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन बनायो ।

इङल्याण्डकी नाट स्काभर ब्रन्टले सर्वाधिक ४० रन बनाइन् । यस्तै, ओपनर ड्यानी व्याट ३४, शोफिया डंकली २८ र हेथर नाइट ३१ रन बनाइन् । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाकी अयाबोंगा खाकाले ४ तथा सबनिम इस्मालीले ३ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । दक्षिण अफ्रिकाकी ताज्मी ब्रिट्सले सर्वाधिक ६८ रन बनाइन् । यस्तै, लौरा वोल्वार्ड्टले ५३, मरिजान कैपले २७ रन बनाइन् ।

इङल्याण्डकी शोफी एक्लेस्टोनले २ विकेट लिइन् । अब दक्षिण अफ्रिकाले फाइनलमा साबिक विजेता अष्ट्रेलियासँग आइतबार केप टाउनमा खेल्ने छ । पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ५ रनले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७