भ्रष्टाचार अन्त्य गर्न राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक : अध्यक्ष तिमिल्सिना


१९ फाल्गुन २०७९, शुक्रबार
Ganesh Timsina
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरूले भ्रष्टाचारीलाई कारबाही गर्ने गरी सहमति गर्नुपर्ने पनि उनले बताएका छन् ।

भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन ‘नेपाल च्याप्टर’ ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले २०४६ सालयताका भ्रष्टाचारलाई छानबिन गरी कारबाही गर्न दलहरू तयार हुनुपर्ने बताए । राजनीतिक दलहरूले देशमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढ्नुपर्ने उनले बताए । भ्रष्टहरूलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन सकेको खण्डमा देशमा भ्रष्टाचार नियन्त्रण हुने उनको भनाइ थियो ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा एउटा राष्ट्रिय सहमति आवश्यक छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरू, पदाधिकारीहरू, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीहरूबीच एउटा राष्ट्रिय सहमति गरौँ न । त्यो सहमति भनेको भ्रष्टाचार नियन्त्रण गर्ने । भ्रष्टाचारीलाई कारबाही गर्ने । बहुदल आएयताका भ्रष्टाचारमा छानबिन होस् । चाहे त्यो विमान खरिदमा होस्, नियुक्ति गर्दा होस्, जग्गाका कुरा होलान् । ती सबैलाई एक ठाउँमा राखेर त्यसमा स्वतन्त्र छानबिन गरौँ । म, हामी जो परे पनि जेल जानेसम्मको कारबाही गर्न सकिन्छ भन्न सकिन्छ ।’

अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायहरूलाई सशक्त बनाउनु पर्नेमा पनि जोड दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७