सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने नागरिक उन्मुक्तिको निर्णय


२१ फाल्गुन २०७९, आईतवार
Ranjita Shrestha1

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ । केन्द्रमा भएको सहमति अनुसार प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरिएको हो ।

नागरिक उन्मुक्तिको यो निर्णयसँगै मुख्यमन्त्री कमलबहादुर शाहले प्रचण्ड बहुमतसहित विश्वासको मत पाउने निश्चित भएको छ । यसअघि विश्वासको मत नदिने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) को प्रदेश संसदीय दलले पनि प्रधानमन्त्री एवं रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि शाहलाई विश्वासको मत दिने भएको छ ।

‘हामी प्रदेश सरकारलाई विश्वासको मत दिन्छौँ । हाम्रा संरक्षक रेशम चौधरीको मुद्दामा प्रदेश सरकरको निर्णयले काम नगर्ने भए पनि मुख्यमन्त्री शाहले प्रयास जारी राख्ने प्रतिबद्धता जनाउनु भएको छ’, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष राजेश अधिकारीले भने, ‘प्रधानमन्त्री ज्यूले पनि माघीको उपहार दिन्छु भनेर अहिलेसम्म निर्णय गर्न नसक्दा उहाँमा ग्लानि बोध भएको हामीले पाएका छौ । त्यसैले विश्वासको मत दिएर थप दबाबको अवस्था निर्माण गर्ने समझदारी भएको छ ।’

उनले केन्द्र सरकारबाट आवश्यक निर्णय आसन्न राष्ट्रपति निर्वाचनको आसपासमा हुने समझदारी भएको जानकारी दिए । सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७