होलीको रङ जस्तै समाज पनि विविधतापूर्ण छ : प्रदेश प्रमुख गुरुङ


२२ फाल्गुन २०७९, सोमबार
Prithiviman Gunung 1

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताएका छन् ।

फागुपूर्णिमा (होली) का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले भनेका छन्, ‘यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको छ । सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागुपूर्णिमा (होली) पर्वले योगदान पुर्‍याउने विश्वास मैले लिएको छु ।’

वसन्त ऋतुका अनेक रङ प्रतिविम्बित गर्ने पर्वका रूपमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेसका जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा विभिन्न रङ तथा अबिर खेल्दै खुशीयालीपूर्वक फागुपूर्णिमा (होली) मनाउने परम्परा रहेको सन्देशमा उल्लेख छ । पर्वले सबै नेपालीमा खुसीका रङ छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।
फागुपूर्णिमा र तोरन्लहको मुख्यमन्त्री अधिकारीद्वारा शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रङहरुको पर्व फागुपूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लहको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले यी पर्वले नेपाली समाजलाई एक सूत्रमा बाँध्दै आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे । ‘यस वर्षकोे फागुपूर्णिमा (होली पर्व) तथा तोरन्लह पर्वले नयाँ उमङ्ग एवं हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।

नेपालका विभिन्न जात–जातिका आ–आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा राष्ट्रिय पहिचान भएको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७