होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही


२२ फाल्गुन २०७९, सोमबार
traffic

काठमाडौं । होली पर्वलाई मध्यनजर गरी आज (सोमबार) काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाई गरिएको छ । ट्राफिक प्रहरीले सोमबार बिहान ११ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकामा युवा–युवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाक्न सक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाई गरेको हो । काठमाडौंका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ । होली पर्वलाई दुर्घटनारहित,सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लघंन गरी तीव्र गतिमा सवारी हाक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिएका छन् । उनले इच्छाविपरीत कसैलाई रङ दल्ने,लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्ने,लागुपदार्थ सेवन गरेर सवारी हाक्ने तथा ट्राफिक नियम उल्लघंन गरी लापरवाहीका साथ सवारी हाक्नेलाई कारबाही गरिने बताए । होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि उपत्यका ट्राफिक प्रहरीले थप सक्रियता जनाएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७