म राष्ट्रपति बने संविधानको रक्षा गर्छु, शीर निहुरिने काम हुन दिन्नँ : नेम्वाङ


०८:०३ बजे

काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा गर्ने बताएका छन् ।

आज (सोमबार) नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रममा नेम्वाङले आफूले संविधानको रक्षा गर्ने बताएका हुन् । ‘म राष्ट्रपति हुँदा संविधानको रक्षा गर्छु । तपाईंको शीर निहुरिने काम हुन दिन्नँ । संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ । मैलै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता आरजु राणालाई भेटेर आएको हुँ ।’

उनले कांग्रेसका सभापति देउवाले समेत राष्ट्रपतिमा उपयुक्त पात्र भएको बताएको सुनाए । जिम्मेवार राजनीतिक दल एक ठाउँमा उभिनु पर्दछ भन्ने देउवाको भनाइ रहेको नेम्वाङको भनाइ छ । उनले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई भेटेको बताएका छन् ।

अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका नेम्वाङको जित सुनिश्चित भएको बताए । उनले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने पनि बताएका छन् ।

अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी लगायतको नेताहरूको सहभागी थियो । एमालेले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७