सिंहदरबारमा आठ दलीय गठबन्धनको बैठक जारी


२३ फाल्गुन २०७९, मंगलवार
Gathabandhan 8 party

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक सिंहदरबारमा चलिरहेको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठक राष्ट्रपति निर्वाचन, समसामयिक विषयमा केन्द्रित छ । राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ । आठ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

यता प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । प्रचण्डविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइका लागि बिहीबारलाई पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ । यस विषयमा पनि आजको ८ दलको बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

रिट निवेदक अधिवक्ता ज्ञानेन्द्रराज आरणले मंगलबार बिहान सर्वोच्च पुगेर प्रचण्डविरुद्ध रिट दायर गरेका हुन् । गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो ।

अधिवक्ता आरणले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन् । ९ दलको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म तथा भावना विपरित काम भएको भन्दै त्यसविरुद्ध एक जुट हुने निर्णय गरेको थियो ।

संक्रमणकालिन न्यायका विषयमा उठेको बहसले पनि गठबन्धनको ध्यानाकर्षण भएको ९ दलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो । ‘शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरुप तार्किक निष्कर्षमा पुर्‍याउन हामी प्रतिबद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सम्बन्धित विषयमा कानून निर्माण र आयोग गठन गरी केही काम सम्पन्न भएको सर्वविदितै छ । यसबारे बाँकी कामहरु अविलम्व पूरा गरिने छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७