तेस्रो महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मीलाई


०७:०५ बजे

तनहुँ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको तेस्रो महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् । त्रिभुवन आर्मी क्लबकी २८ बर्षीया न्यौपानेले व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किमि दूरी एक घण्टा ४७ मिनेट ५१ सेकेण्डमा पार गर्दै उपाधि जितेकी हुन् ।

६४ जना धावक सहभागिता रहेको प्रतियोगितामा सोलुखुम्बुकी अनिता राई द्वितीय र जुम्लाकी विश्वरुपा बुढा तृतीय भए । उनीहरुले उक्त दूरी क्रमशः एक घण्टा ५२ मिनेट २४ सेकेण्ड र एक घण्टा ५७ मिनेट ३२ सेकेडण्डमा पूरा गरेका थिए । दौड प्रतियोगितामा ४ जना विदेशी नागरिकको पनि सहभागिता थियो । प्रथमलाई ४१ हजार ७९, द्वितीयलाई ३१ हजार ७९, तृतीयलाई २१ हजार ७९ रुपैयाँसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।

गत वर्ष आयोजित प्रतियोगिताको उपाधि नेपालकी कीर्तिमानी धाविका सशस्त्र प्रहरी बल (एपीएफ) की खेलाडी कान्छीमाया कोजुले जितेकी थिइन् । नेपाल प्रहरीकी रेखाबम विष्ट द्वितीय र व्यास–१० की नम्रता गुरुङ तृतीय भएका थिए ।

व्यास गुफादेखि अनशन चौतारी, दुर्गा मन्दिर, भोर्लेटार चोक, गणेशमान चोक, वन कार्यालय, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, बाराहीरानी मार्गको रानी गाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यार चोक, चण्डिथान, गद्दीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरबारसम्म पुगेर दौड सम्पन्न गरिएको थियो ।

धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिकस्थलका रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन आयोजना गरिएको नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७