मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट


२४ फाल्गुन २०७९, बुधबार
melamchi 20
फाइल फोटो

काठमाडौं । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको थियो । नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए । उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अण्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उनले बताए । ‘पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ’, उनले भने ।

निर्देशनालयले यसअघि विच्छाइएको पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनःपरीक्षण गरिने उनको भनाइ छ । ‘अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ’, उनले भने । नयाँ पाइप परीक्षणको क्रममा हुँदा हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ । उपत्यकामा झण्डै एक सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ ।

पहिलो कम परिमाणमा पानी वितरण हुने गरेको तर मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पाइपमा समस्या भएको हो । नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौँमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ । सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो । मेलम्चीको पानीको वितरण दुई वर्ष पहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७