फोटो पत्रकारद्वय उषा तितिक्षु र पूर्णिमा श्रेष्ठलाई एनएफपीजेले सम्मान गर्ने


०८:०३ बजे

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजेले दुई जना फोटो पत्रकारलाई सम्मान गर्ने घोषणा गरेको छ ।

फोटो पत्रकार उषा तितिक्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरिएको एनएफपीजे अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

संस्थाको रजत जयन्तीको अवसर पारेर एनएफपिजे नेपाल विशेष नारी सम्मान २०७९ बाट उनीहरुलाई सम्मान गर्न लागेको हो । फोटो पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकोले उनीहरुलाई संस्थाले सम्मान गर्न लागेको हो ।

फोटो पत्रकार उषा तितिक्षु २०४६ सालदेखि निरन्तर फोटोग्राफीसँगै फोटो पत्रकारितामा सक्रिय नेपालकै पहिलो महिला स्वतन्त्र फोटो पत्रकार हुन् । उनीद्धारा खिचिएका तस्वीरहरु कान्तिपुर, द काठमाडौं पोष्ट, हिमाल खबर, मुल्याङ्कन, युगसंवाद, दृष्टि र अस्मितालगायत विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहले ‘कू’ गरेको बखत खिचिएको तस्वीरले देशविदेश निकै चर्चा कमाएको थियो । हाल उनी फोटो पत्रकारितासँगै अपाङ्गता भएका मानव बेचबिखनबाट प्रभावित, यौनिक लैङ्गिक समुदाय, भेदभावमा परेका व्यक्तिहरुको एवं द्वन्द्वप्रभावित व्यक्तिहरुको अधिकारको पक्षमा वकालत गरिरहेकी छिन् ।

त्यसैगरी, पूर्णिमा श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारितामा सक्रिय छिन् । उनले कारोबार, आर्थिक दैनिक र न्यूयोर्क टाइम्सलगायत सञ्चारमाध्यममा काम गरेकी छिन् । उनीले सगरमाथाको आधार शिविरमा फोटो प्रदर्शनी गर्नुका साथै नेपालको तर्फबाट गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्दै किर्तिमान समेत कायम गरेकी छिन् ।

उक्त सम्मान आगामी बैशाख १३ गते राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा प्रदान गरिने संस्थाले जानकारी दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७