यस्तो छ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको राजनीतिक जीवन


२५ फाल्गुन २०७९, बिहीबार
Ramchandra Poudel

काठमाडौं । चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पिता दुर्गाप्रसाद पौडेल र माता ऋषिमाया पौडेलको कोखबाट २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ, बाहुनपोखरा तथा हालको व्यास नगरपालिका–८ मा जन्मिएका पौडेलले आफ्नो सम्पूर्ण जीवन नेपाली कांग्रेसको राजनीतिमा बिताएका छन् ।

संस्कृत साहित्यमा २०२४ सालमा शास्त्री र त्रिभुवन विश्वविद्यलयबाट २०२७ सालमा नेपाली साहित्यमा स्नातकोत्तर गरेका पौडेल २०१६ सालमा तत्कालीन हिमालयन छात्र संघ स्थापना (पोखरामा) भएसँगै राजनीतिमा लागेका हुन् । उनी पोखरा विन्ध्यवासीनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ साल जेठ÷असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि बनेका थिए ।

२०१७ पुस १ गते जननिर्वाचित संसद भङ्ग गरी प्रधानमन्त्री बीपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका पौडेल नन्दीरात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष पनि हुन् । यस्तै उनी रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष बनेर काम गरे ।

यस्तै, जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व गरे उनी २०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा २०१९÷०२० सालमा उपत्यका आन्दोलनमा गिरफतारीमा परेका थिए । दोस्रोपटक २०२०÷०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा पनि उनी गिरफतार परेका थिए ।

२०२३ सालमा गण्डकी छात्र संघको संस्थापक संयोजक रहेको पौडेल सोही वर्ष सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, नेपाली काँग्रेस तनहुँको सदस्य र जिल्ला उपसभापति हुँदै उनी जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली काँग्रेस तनहुँ समितिको संयोजक बनेका थिए ।

उनी २०४३ सालमा नेपाली काँगे्रस केन्दीय सदस्य बनेका हुन् । लामो समय केन्द्रीय सदस्य रहेका उनी पार्टीको उपसभापति हुँदै २०७२ सालमा केन्द्रीय कार्यवाहक सभापति भई केन्द्रीय नेतृत्वमा सक्रिय रहेका थिए । कार्यवाहक सभापति भई पार्टीको १३औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । नेपाली काँग्रेसको ‘वरिष्ठ नेता’ २०७२ देखि हालसम्म निरन्तर रहँदै आएका पौडेल आज राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

जेल जीवन

भरतपुर कब्जा गर्ने नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं. २०१८ मा काठमाडौबाट गिरफ्तार भई पहिलो पटक करिब एक महिना हिरासतको सजाय भोगेका उनले विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष राजबन्दी जीवन बिताएका छन् । डीआईजी काण्डमा गिरफ्तार भई नख्खु जेलमा रहँदा पहिलो पटक गिरिजाबाबुसँग उनको भेट भएको थियो ।

प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको, २०२४ (पोखरामा ९ महिना र काठमाडौमा ६ महिना), प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौमा जेलमा राखिएको, २०२५(२०२६, नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडाैंमा ३ महिना हिरासत, २०२७, रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ मा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष बन्दी, नेपाली काँग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार, १० महिना हिरासत । यसै सम्मलेलनद्वारा नेपाली काँग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनर्स्थापानाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो ।

उनले नेपालका सबै जिल्लाका साथै भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशको भ्रमण गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७