विदेशी मुद्रा सञ्चितिमा सुधार : १० महिनाको वस्तु आयात धान्ने

आयातसँगै निर्यात पनि घट्यो, व्यापार घाटा सवा आठ खर्ब


२८ फाल्गुन २०७९, आईतवार
bank

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ । गत असार मसान्तमा रू १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति सात महिनामा १३ दशमलव आठ प्रतिशतले बढेर माघ मसान्तसम्म रू १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्ममा १० अर्ब ५० करोड अमेरिकी डलर कायम भएको छ । जुन १० दशमलव दुई प्रतिशतले वृद्धि हो ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रू १२ खर्ब २८ अर्ब पाँच करोड रहेको छ । त्यस्तै, राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रू एक खर्ब ५५ अर्ब २८ करोड बराबर रहेको छ । माघ मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ४ प्रतिशत छ ।

आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव आठ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, यो मुद्रा सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने देखिएको छ । माघ मसान्तसम्ममा कायम रहेको विदेशी विनिमय सञ्चिति नेपालको कूल गार्हस्थ्य उत्पादनको अनुपातमा २८ दशमलव पाँच प्रतिशत बराबर हो ।
आयातसँगै निर्यात पनि घट्यो
चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकका अनुसार सात महिनामा रू ९३ अर्ब ४३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात गरेको । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव ३ प्रतिशतले बढी हो । सो अवधिमा भारत र चीनतर्फको निर्यातमा कमी आउँदा अन्य देशको निर्यातमा भने वृद्धि भएको छ । भारतमा ३७ दशमलव ७ प्रतिशत, चीनमा १३ दशमलव ४ प्रतिशतले कमी आउँदा अन्य देशको निर्यातमा ८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

नेपालबाट जिङ्क सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलंँैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
सात महिनाको अवधिमा नेपालले रु नौ खर्ब १८ अर्ब १७ करोड बराबरको विदेशी वस्तु आयात छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको भए पनि चालु आवको सोही अवधिको तुलनामा १९ दशमलव ९ प्रतिशतले आयात घटेको हो ।

सो अवधिमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, औषधि, एमएस विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

सात महिनामा भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ, भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

सवा आठ खर्ब व्यापार घाटा

आयात निर्यात दुबै घट्दा नेपालको व्यापार घाटा पनि घटेको छ । चालु आवको सात महिनाको अवधिमा नेपाललको व्यापार घाटा १८ दशमलव ७ प्रतिशतले घट्दा रू आठ खर्ब २५ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ७१ अर्ब ७८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु एक सय २८ अर्ब १७ करोड बराबरको भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७