देश श्रीलंका बन्ला कि भनेर नागरिक होइन, हाम्रो प्रधानमन्त्री डराउनु पर्छ : महामन्त्री थापा

अबको पाँच महिनामा पनि सुधारको संकेत नदेखिए गठबन्धनको अर्थ रहँदैन’


२८ फाल्गुन २०७९, आईतवार
gagan thapa 3
फाइल फोटो

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाडौंमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयमा बोल्दै थापाले राजनीतिक दलको सुविधाका लागि दर्जनभन्दा बढी मन्त्रालय खाली राख्न नहुने स्पष्ट परे ।
‘मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ’, उनले भने, ‘पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै संकेतका रुपमा देखिनु पर्छ ।’ महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘हामीसँग स्रोत साधनको अभाव छ, त्योभन्दा धेरै समयको अभाव छ, हाम्रो प्रधानमन्त्रीले त्यो अभावको अनुभूति कति गरेको छ भन्ने कुराले हाम्रो गन्तव्यको अनुमान लगाउन सक्छौँ,’ थापाले भने, ‘अहिले सबैभन्दा धेरै नागरिकमा धैर्यताको अभाव छ । हामीसँग नागरिकलाई आशा जगाउनका लागि पाँच महिनाको समय मात्रै हो, यदि अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदैछ भन्ने अनुभूति गराउन सकेन भने संख्या जति भए पनि केही हुँदैन, गठबन्धन जति ठूलो भए पनि केही अर्थ रहँदैन ।’

महामन्त्री थापाले मुलुकको ढुकुटी कसरी चलिरहेको भनेर सरकारले खबर राख्नुपर्ने बताए । ‘हामी अहिले राष्ट्रपतिको चुनाव भनेका छौँ, उपराष्ट्रपतिको चुनाव भनेका छौँ, बधाई साटेका छौँ, हिडेका छौँ, तर समय त बितिरहेकै छ,’ उनले भने, ‘हाम्रो सरकारका दर्जनौँ मन्त्रालयहरू रिक्त छन्, त्यहाँ खर्च मात्रै भइरहेको छ, काम भइरहेको छैन । को व्यक्ति प्रधानमन्त्री, मन्त्री भयो भन्ने कुराले अर्थ राख्दैन, हाम्रो हरेक प्रधानमन्त्रीले आफ्नो खुत्रुक्केमा कति पैसा छ ? कसरी चलिरहेको छ ? भनेर थाहा पाउनु पर्छ । अर्थतन्त्र बिग्रिएर देश श्रीलंका बन्ला कि भनेर नागरिक डराउने होइन, हाम्रो प्रधानमन्त्री डराउनु पर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७