सामूहिक लगानीमा सूर्यमुखी फूलखेती, टिकटक बनाउनेको भीड


२८ फाल्गुन २०७९, आईतवार
Sun flower chitwan scaled
फाइल फोटो

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ पन्ननपुरमा व्यावसायिक सूर्यमुखी फूलको खेती फस्टाएको छ । स्थानीय तीर्थराज केसीसहित पाँच जनाको सामूहिक लगानीमा थालिएको सूर्यमुखी फूलको खेती फस्टाउँदै गएको हो ।

कृषि पेसामा केही नयाँ गर्ने सोचका साथ यो व्यवसाय सुरु गरिएको केसीले बताए । ‘अहिले स्थानीय तथा अन्य वडाका नागरिक फूलको सौन्दर्य हेर्न, फोटो खिच्न र टिकटक बनाउन आउने गरेका छन् । यहाँ अवलोकनका लागि आउनेलाई निःशुल्क प्रवेश दिएका छौँ’, उनले भने ।

तोरी खेती गर्दा बढी मेहनत लाग्ने तथा फूल फूल्ने समयमा तुसारो लागेर फल नलाग्ने भएकाले यहाँका किसान सूर्यमुखीको खेतीप्रति आकर्षित हुन थालेका केसीको भनाइ छ । ‘यो पहिलो पटकको प्रयास भएकाले विस्तारै खेतीका लागि क्षेत्रफल बढाउने योजना छ’, उनले भने ।

परीक्षणका रुपमा लगाइएको सूर्यमुखी फूल पहिलो वर्ष चार बिघामा लगाएको छ । लगानी र मेहनत कम लाग्ने र आम्दानी पर्याप्त गर्न सकिने भएकाले सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गरिएको केसीले बताए । यसभित्र तोरी पनि लगाउन मिल्ने भएकाले तोरीसमेत उत्पादन गरिरहेको उनले बताए । केसीसहित यस व्यवसायमा मुमानसिङ खड्का, नारद पोख्रेल, हिमाल खड्का र पदम रिजाल छन् ।

पाँच महिनाअघि रू पाँच हजार लगानी गरी व्यवसाय सुरु गरिएको हो । सूर्यमुखी फूल खेतीभित्र अन्य बाली लगाउन सकिने, कम लगानी र मेहनतमा व्यावसायिक उत्पादन गर्न सकिने कृषि प्राविधिक बताउँछन् । बीउबाट तेल उत्पादन गरी पर्याप्त आम्दानी गर्नुका साथै यसको डाँठलाई दाउराका रुपमा प्रयोग पनि गर्न सकिन्छ । सूर्यमुखी फूललाई बाह्रै महिना फुलाउन सकिने भएकाले यसबाट उत्पादन बढाउन सकिने विज्ञको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७