आफूसँगै जेल बसेका साथीहरुलाई राष्ट्रपतिले बोलाए शपथमा


२९ फाल्गुन २०७९, सोमबार
Ramchandra poudel 2

काठमाडौँ । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) दिउँसो १ बजे शीतल निवासमा शपथ ग्रहण गर्दैछन् । शपथ समारोहमा प्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्रीहरू, सांसदहरू संवैधानिक निकायका पदाधिकारीदेखि कूटनीतिक नियोगका अधिकारीहरू बोलाउने नियमित सूची हो । तर‚ यस पटक चार जना विशेष अतिथि पनि शपथ समारोहमा उपस्थित हुनेछन् ।

ती अतिथिलाई पौडेल आफैंले बोलाएका हुन् । शपथ ग्रहण कार्यक्रममा पौडेलले आफूसँगै जेल बसेका साथीहरुलाई शथप ग्रहण समारोहमा बोलाएका हुन् ।

ईन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा राष्ट्रपति रामचन्द्र पौडेलसँगै जेल बसेका साथीहरु हुन् । त्यस्तै बागलुङ जेलमा बस्दा जेलमा दूध पुर्‍याउने व्यक्ति डिलप्रसाद सापकोटा (सापकोटा बाजे) सहभागी हुने पौडेलको सचिवालयले जानकारी दिएको छ । सापकोटा बाजे बागलुङबाटै काठमाडौं आउँदै छन् ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नव निर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका थिए । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७