सप्तरीमा १० वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद सजाय


१ चैत्र २०७९, बुधबार
jel 1
सांकेतिक तस्वीर

सप्तरी । एक १० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई जिल्ला अदालत सप्तरीले जन्मकैद सजाय सुनाएको छ । सप्तरीकै डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई अदालतले जन्मकैद सजाय सुनाएको हो ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई जन्मकैद हुने फैसला सुदाएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए । अभियुक्त साहले बालिकालाई २०७८ फागुन २२ गते दिउँसो बलात्कार गरेका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिन उजुरी दिएकी थिइन् । बुबाआमा ज्याला मजदुरीका लागि घरबाहिर गएको मौका छोपी आरोपितले घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बयान दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितलाई २०७८ फागुन २२ गते पक्राउ गरेको थियो । जिल्ला अदालतमा २०७८ चैत १७ गते अभियोजनपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रमेश पोखरेलको आदेशमा आरोपित २०७८ चैत २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

यस्तै सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई सात वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

आरोपितलाई सात वर्ष कैदका साथै पीडितका लागि ५० हजार क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर राहत पीडित कोषमा एक हजार तीन सय जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी पोखरेलले जानकारी दिए । आरोपित ०७६ पुस ११ गते पक्राउ परेपछि माघ ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७