कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै एमालेले दियो निर्वाचन आयोगमा उजुरी


१ चैत्र २०७९, बुधबार
nirbachan aayog

काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने कांग्रेसको निर्णयप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले कांग्रेसले आचारसंहिता विपरित कार्य गरेको उल्लेख गर्दै एमालेले उजुरी गरेको जानकारी दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बर्तौलाले चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि गए रातिबाट निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा उपराष्ट्रपति पदका उम्मेदवार राम सहाय यादवको पक्षमा मत मागेको बताएका हुन् ।

‘चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि हिजो राति १२ बजेदेखि शून्य समय प्रारम्भ भएको छ । शून्य समयमा कुनै पनि उम्मेदवारको पक्षमा कसैले मत माग्नु वा निर्वाचनलाई प्रभावित गर्ने गरि उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ । तर शून्य समय प्रारम्भ भैसकेको अवस्थामा आज नेपाली कांग्रेसले बैठक बसेर निर्वाचन आचारसंहिता विपरित उपराष्ट्रपतिमा राम सहायप्रसाद यादवको पक्षमा भोट हाल्न आफ्ना सांसदहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ ।’

आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो । आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी दिइएको एमालेको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेबाट मौनअवधि सुरू हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७