निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने


३ चैत्र २०७९, शुक्रबार
sanghiya

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयको कर्मचारी कल्याण शाखाले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा उजागर गर्न ‘प्रतिभा डबली कार्यक्रम सञ्चालन कार्यविधि, २०७९’ बमोजिम प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कर्मचारी कल्याण शाखाकी शाखा अधिकृत शिला सापकोटाले निजामती कर्मचारीभित्र रहेको नविन सोच÷इनोभेटिभ आइडियालाई उजागर गर्नका लागि कर्मचारी प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिइन् । ‘कर्मचारीभित्र लुकेर रहेका नविन सोच-इनोभेटिभ आइडियालाई राष्ट्रसेवामा उपयोग गर्नेगरी मन्त्रालयले उक्त कार्यक्रमलाई अगाडि बढाएको हो’, शाखा अधिकृत सापकोटाले भनिन् ।

कर्मचारी कल्याण शाखाले प्रतिभा डबली कार्यक्रममा इनोभेटिभ आइडिया प्रस्तुत गर्ने निजामती कर्मचारीलाई ३० दिनभित्र इनोभेटिभ आइडिया र प्रस्ताव पेश गर्न आग्रह गरेको छ । सो शाखाका शाखा अधिकृत हरिनारायण शर्माले निजामती कर्मचारीको व्यक्तित्व विकास गराई सार्वजनिक सरोकारका विषयमा नविन सोच÷इनोभेटिभ आइडिया पहिचान र उपयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

उनले उक्त कार्यक्रममा सहभागी हुन चाहने सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारील अनलाइनमार्फत अनलाइन प्रस्ताव पेश गर्न सक्ने बताए । नविन सोच-इनोभेटिभ आइडिया पेश गरी शीर्ष १० मा छनोट हुने स्थान प्राप्त गर्ने निजामती कर्मचारीले प्रतक्ष्य प्रस्तुतीकरणसमेत गर्नुपर्ने शाखा अधिकृत शर्माको भनाइ छ । उक्त प्रस्तुति टेलिभिजनमार्फत समेत प्रस्तुत गरिने सो शाखाले जनाएको छ ।

प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र तोकिएको पुरस्कार प्रदान गरिने शर्माले बताए । एकपटक अनलाइनमार्फत प्रस्ताव पेश गरी नम्बर प्राप्त भइसकेपश्चात् पुनः सच्याउन नपाइने बताइएको छ ।

यस्तै, प्रतियोगीले आफ्नो प्रस्ताव पेश गर्ने क्रममा अडियो÷भिडियो कपीसमेत अपलोड गर्नुपर्ने र सो अडियो भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामग्री राख्न नपाइने सो शाखाले जनाएको छ । सो मन्त्रालयले गत वर्ष पनि चारवटा आइडिया छनोट भई पुरस्कृत गरिसकेको छ भने आइडियाको कार्यान्वयन सम्भावनाबारे अध्ययन गरिरहेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७