घरमै पुगेर अपाङ्गता परिचयपत्र


२०७९ चैत ४ शनिबार ०७:१९ बजे

तनहुँ । तनहुँको व्यास नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्र वितरण कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले अति अशक्त भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेकी छन् ।

उपप्रमुख दरैले शुक्रबार लामो समयदेखि ओछ्यान परेकी व्यास–१२ का ५४ वर्षीया चिजामाया क्षेत्रीलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेकी हुन् । अति अशक्त अवस्थाकी चिजामायालाई उपप्रमुख दरैले घरमै पुगेर ‘क’ वर्ग (अति अशक्त) को परिचयपत्र दिएकी छन् । अति अशक्त भएका व्यक्तिलाई पालिकासम्म पुग्न समस्या हुने भएकाले घरमै पुगेर परिचयपत्र वितरण गरिएको उनले बताइन् । स्थानीय तहको सेवा घरघरमा पुगेर गर्दा सिंहदरबारको सेवा पाएजस्तो अनुभूति दिलाउनु पर्छ भन्ने मान्यता रहेको उनको भनाइ छ ।

नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखा महिला, बालबालिका तथा सामाजिक उपशाखा प्रमुख राधा आचार्यले पालिका वा वडासम्म पुग्न सक्ने व्यक्तिलाई बोलाइने र अति अशक्तलाई घरमा नै पुगेर सेवा प्रवाह गर्दै आएको जानकारी दिइन् । उनका अनुसार अति अशक्त अवस्थाका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र प्रदान गरिएको छ ।

त्यस्तै व्यास–१० का ५२ वर्षीय दानबहादुर दरैलाई अति सशक्त परिचयपत्र विरतण गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्न घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो । घरमै आएर सेवा परिचयपत्र दिँदा सिंहदरबारको सेवा घरघरमा आएको महसुस भएको दानबहादुर बताउँछन् । ‘हिँड्डुल तथा शौचका लागि समेत जान नसक्ने अशक्त व्यक्तिलाई सहयोग पुगेको छ, यसमा हाम्रो पनि कोही छ भन्ने लागेको छ’, उनले भने ।

शाखाप्रमुख आचार्यका अनुसार हालसम्म नगरपालिकाभित्रका आठ सय पाँच जनालाई विभिन्न वर्गका अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । नगरपालिकाका आठ सय पाँचजनालाई क, ख, ग र घ वर्गको परिचयपत्र वितरण गरिएको जनाइएको छ । हाल परिचयपत्र वितरणको कार्यक्रम भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७