रुकुमपश्चिममा कृषकलाई दूधमा प्रोत्साहन


४ चैत्र २०७९, शनिबार
milk
फाइल फोटो

रुकुम पश्चिम । रुकुमपश्चिममा कृषकले दूधमा प्रोत्साहन पाउन सुरु गरेका छन् । कर्णाली प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत जिल्लाका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गर्न सुरु गरेको हो ।

चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । कृषकलाई दूधमा प्रतिलिटर रु पाँच प्रोत्साहनस्वरुप अनुदान वितरण भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए । जिल्लामा अहिलेसम्म ९० कृषकले प्रोत्साहन पाउन सुरु गरेको उनले बताए । अहिलेसम्म प्रोत्साहनस्वरुप रु छ लाख ६५ हजार कृषकको खातामा रकम गएको उनको भनाइ छ ।

अहिलेसम्म एक कृषकले कम्तीमा रु एक हजार दुई सयदेखि बढीमा रु ६५ हजारसम्म प्रोत्साहन रकम पाएको उनले जानकारी दिए । कृषकले बेचेको दूधका आधारमा प्रतिलिटर रु पाँच प्रोत्साहन रकम दिने व्यवस्था गरिएको छ । यसका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय र स्थानीय तहमा दर्ता भएका दुग्ध सहकारी, डेरी र चिस्यान केन्द्रमा मात्र दूध बिक्री गर्नुपर्ने हुन्छ ।

दूधमा प्रोत्साहन कार्यक्रमका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषको आवेदन माग गरेको थियो । त्यसअनुसार जिल्लामा चार सय बढी कृषकले आवेदन दिएका थिए । प्रमुख शर्माका अनुसार प्रत्येक तीन–तीन महिनामा कृषकको खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ ।

कृषकले कति दूध बिक्री गरे भनेर कार्यालय आफँले सम्बन्धित दुग्ध सहकारी, डेरी तथा चिस्यान केन्द्रबाट विवरण लिने गरेको छ । त्यस्ता सहकारी, डेरी र चिस्यान केन्द्र अहिलेसम्म १७ रहेको बताइएको छ । दूधमा प्रोत्साहनका लागि प्रदेश सरकारले जिल्लामा चालु आवका लागि रु ४० लाख पठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७