पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन गर्न सम्मेलन हुँदै


४ चैत्र २०७९, शनिबार
water nepal
फाइल फोटोे

काठमाडौं । नेपालमा पानीको सङ्कट न्यूनीकरण गर्ने उपायहरुको खोजी गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले ‘बर्सातको पानी सङ्कलन : पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन’ सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ ।

विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालयसँगको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले अन्य विभिन्न निकायको सहयोगमा उक्त दुई दिवसीय राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।

आयोजक समितिले सम्मेलनको तयारी पूरा भएको जनाएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी समितिका अध्यक्ष एवम् स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष ई. रामदीप साहले सम्मेलनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।
अध्यक्ष साहको अध्यक्षतामा आयोजक संस्था र सहयोगी संस्थाका प्रतिनिधिहरु सम्मिलित एक आयोजक समिति बनेको छ । त्यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति सुनिलबाबु श्रेष्ठको अध्यक्षतामा एक प्राविधिक समिति बनेको छ । प्राविधिक समितिले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रको छनोट र सम्पादन गरी उपयुक्त ढाँचा तयारी गरिसकेको जनाएको छ ।

अध्यक्ष साहका अनुसार बर्सातको पानी सङ्कलनार्थ प्राप्त अवसरलाई दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जलउत्पन्न प्रकोप न्यूनीकरणका सन्दर्भमा सम्बोधन गर्ने सम्मेलनको उद्देश्य छ । साथै आमजनतामा पानीको महत्वको चेतना जगाउनु, उपयुक्त नीतिका लागि पैरवी चलाउनु र खानेपानीसम्बन्धी ज्ञान र उपयुक्त नवीनतम् प्रविधिको सार्वजनिकीकरण गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।

यही मार्च १९ र २० मा काठमाडौँमा हुने सम्मेलनमा विभिन्न विषयका विज्ञद्वारा १६ कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा चार प्राविधिक सत्र पनि हुनेछन् । पहिलो दिन सम्मेलनको समुद्घाटन हुनेछ भने दोस्रो दिन सामूहिक बहस हुनेछ । सम्मेलनको समापनमा काठमाडौँ घोषणा जारी गरिने छ ।

स्मार्ट वासले खानेपानी मन्त्रालयको समन्वय र विभिन्न संस्थाको सहयोगमा २०२० पनि बर्सातको पानी सङ्कलनसम्बन्धी राष्ट्रिय सम्मेलन गरेको थियो । सो सम्मेलनका स्रोत विज्ञको प्रस्तुति र नीति निर्माता तथा तीनै तहका सरकारमा खानेपानी क्षेत्रमा काम गरिरहेका नेतृत्व, प्राविधिक र उपभोक्ताबीच भएको ज्ञानको साझेदारीले काठमाडौँ महानगरपालिकासहित विभिन्न निकायले पानी पुनर्भरण र बर्सातको पानी सङ्कलन र उपयोगका अभ्यास थालेको आयोजक समितिका अध्यक्ष ई साहले जानकारी दिएका छन् ।

सम्मेलनको सहआयोजकमा उच्चस्तरीय बागमती सभ्यता संरक्षण तथा विकास समिति, नगर विकास कोष, इन्टरनेसनल रेनवाटर हाभेष्टिङ एलाएन्स, ग्लोबल पिस फाउन्डेसन नेपाल, दियालो टेक्नोलोजी प्रा.लि., बायोग्यास सपोर्ट प्रोग्राम र इन्भायरोमेन्ट एन्ड रिसोर्सेज म्यानेजमेन्ट कन्सल्टेन्सी (इआरएमसी) छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७