सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित


५ चैत्र २०७९, आईतवार
Sudurpashchim University Central Campus1678891464 1

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन अनिश्चित बनेको छ ।

केही विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडीमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन स्थगित भएको विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठकले जानकारी दिए ।

‘पाँच वटा क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको छ’, उनले भने, ‘अन्य आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया जारी छ ।’ उनले निर्वाचनका लागि छलफलमार्फत सहमति खोज्ने प्रयास भइरहेको बताए ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले निर्वाचन समितको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थी सङ्गठनहरुले विद्यार्थी भर्नाका लागि दुई दिनको समय तय गरी चुनावलाई असफल र विद्यार्थीहरुलाई मताधिकारबाट बञ्जित गर्न खोजेको आरोप लगाएका छन् । अन्य विद्यार्थी सङ्गठनले भने निर्वाचन हुनुपर्ने माग गरेका छन् । अनेरास्ववियू क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाश चन्द्र गिरीले यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्नुपर्ने बताए ।

‘हामीले पटक–पटक छलफल गरी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका छौँ’, उनले भने, ‘हाम्रो सङ्गठन निर्वाचनमा जान तयार छ ।’ सुदूरपश्चिम विश्वविद्यालयले भने ताला खोल्नका लागि पटक–पटक छलफल भए पनि सहमति जुट्न नसकेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७