तेस्रो मुलुका सामान अब रेलबाट सिधै बिराटनगर आइपुग्ने


१४ बैशाख २०७५, शुक्रबार
cargo rel

मोरङ, १४ बैसाख : तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ तथा ट्रेडिङका सामान अब रेलमार्फत् सिधै नेपाली सीमानजिक आइपुग्ने भएको छ । यसका लागि भारतको कोलकाता बन्दरगाहबाट कन्टेनर बोकेर ‘कार्गो रेल’ हिंडेको छ ।

cargo rel
प्रतिकात्मक तस्विर

बुधबार कोलकाताबाट हिंडेको कार्गो रेल शनिबार मध्यान्नसम्म बथनाहा आइपुग्ने जनाइएको छ । सीमावर्ती क्षेत्रसम्म यसअघि नै ‘ब्रोडगेज’ रेलसेवा आइसकेको छ । मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार पोष्ट पूर्णरुपमा तयार भएपछि रेलले त्यही स्थानसम्म सामान ल्याउने छ ।

कोलकाता बन्दरगाहबाट यसअघि यस्तो कार्गो रेल वीरगञ्ज नाकासम्म आउने गरेको थियो । यो सेवाले समुद्रपार मुलुकसँगको व्यापारमा सकारात्मक प्रभाव पर्ने उद्योगी–व्यवसायीले बताएका छन् । हाल परीक्षणका लागि सञ्चालन गरिएको उक्त रेल सीमावर्ती जोगबनी नाकाभन्दा केही पर बथनाहासम्म आइपुग्ने छ । ‘यो सुविधाले नेपाली उद्योगी–व्यवसायीलाई ठूलो राहत पुग्नेछ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाष बोहोरा भन्छन्, ‘ढुवानी लागत कम पर्ने भएकाले यसको फाइदा आम उपभोक्तासम्मै पुग्ने छ ।’

बोहोराका अनुसार त्यहाँ अनलोड गरिएको सामान मालबाहक अरु साधनमार्फत् सम्बन्धित उद्योगसम्म पु¥याइने छ । यो सुविधाले तत्कालका लागि कम्तीमा पनि आयातीत सामानमा प्रतिकिलो एक रुपैयाँ ढुवानी भाडा सस्तो पर्ने बोहोराले बताएका छन् । रेल नियमित रुपमा सञ्चालन भएपछि घट्दै गएर २ रुपैयाँभन्दा सस्तो पर्ने उनले दावी गरे । बुधनगरको भन्सार पोष्ट निर्माण सकिएपछि तेस्रो मुलुकबाट आएका समान ‘सिपिङ कम्पनी’ ले सिधै रेलबाट नेपालमै सामान ल्याई पु¥याउने छ । ‘यसबाट कोलकाता बन्दरगाहमा ब्यहोर्दै आउनुपरेको झन्झटबाट मुक्ति मिल्नेछ’ बोहोराले भने, ‘पूर्ण रुपमा कार्गो रेल सञ्चालनमा आएपछि नेपाली औद्योगिक क्षेत्रमात्र होइन उपभोक्तासम्मै फाइदा पुग्नेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७