मकवानपुरको वंशगोपालमा अनेरास्ववियूका दिवस सिलवालको प्यानल नै विजयी

हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगर–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियूको प्यानल नै विजयी भएको छ ।
आज (आइतबार) भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार वंशगोपालको स्ववियु सभापतिमा अनेरास्ववियूका दिवस सिलवालको प्यानल नै विजयी भएको हो । सिलवालले १८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन् ।
यस्तै सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने २० मत, कोषाध्यक्षमा रुपा राई १७ मत, सदस्यहरुमा सपना राउत २३ मत, सुजन गोले १७ मतसहित निर्वाचित भएका छन् ।
सिलवालको प्यानलमा नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) बीच चुनावी तालमेल थियो भने गौतमको प्यानलमा नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंबीच तालमेल थियो ।
जिल्लाको ८ वटा क्याम्पसमध्ये आज ७ वटा क्याम्पमा निर्वाचन भएको छ । जिल्लाको ७ वटै क्याम्पसहरुमा दुई प्यानल बनाएर विद्यार्थी संगठनहरु निर्वाचनमा भाग लिएका छन् । जिल्लाको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरि बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनको नतिजा भने आउन बाँकी रहेको छ ।
यसअघि जिल्लाको पालुङ बहुमुखी क्याम्पसमा भने माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका पुष्कल श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
हेर्नुस् मत
