यति छिट्टै दोस्रो पटक विश्वासको मत माग्नु पर्ला भन्ने सोचेकै थिइनँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न खोज्दा दोस्रो पटक विश्वासको मत लिन बाध्य भएको बताएका छन् ।
आज (सोमबार) प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको वातावरण बनाउन आफू क्रियाशिल हुँदाहुँदै नेकपा एमाले र राप्रपाले नमानेको जिकिर गरे । प्रचण्डले भने, ‘यति छिटै विश्वासको मत माग्नु पर्ला भन्ने सोचेकै थिइनँ, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो ।’
उनले नेकपा एमाले नेतृत्वको गठबन्धनमा राजनीतिक स्थिरताको प्रतिवद्धतासहित सरकार गठन भएको बताएका छन् । तर, राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्छ भन्ने प्रस्तावपछि केही दलहरूबीच असमझदारी बढेको बताए । उनले थपेर, ‘प्रधानमन्त्री र मन्त्रीहरूबीच न ठूला नीतिगत मतभेद देखिए न व्यक्तिगत सम्बन्ध बिग्रिएको थियो । राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्छ भन्ने प्रस्तावपछि एमाले र राप्रपाका मन्त्री ज्यूहरुले राजीनामा दिनुभयो ।’