अब आरामसँग सरकार चल्छ, विकास निर्माणको कामले गति लिन्छ : प्रधानमन्त्री
‘अब चार दिनभित्र सरकारले पूर्णता पाउँछ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् ।
आज (सोमबार) प्रतिनिधि सभामा विश्वासको मत लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ दुई-चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । उनले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि (मङ्गलवार) बिहानदेखि छलफल सुरु गर्ने पनि जानकारी दिए ।
आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले दाबी गरे । उनले भने, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानदेखि सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ, सबैसँग बसेर २÷४ दिनभित्रमै सबै टुङ्ग्याउने अनि काम गर्ने विचार छ ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए । शत प्रतिशत मत आउँछ भन्नु भएको थियो, आएन नि भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जति भयो, त्यो पर्याप्त रहेको बताए । उनले अगाडि भने, ‘अब आरामसँग सरकार चल्छ । विकास निर्माणको कामले गति लिन्छ ।’ सोमबार प्रचण्डले १७२ मतसहित प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । नेकपा एमाले र राप्रपाले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् ।