आलोपालोका आधारमा सबै प्रदेश सरकार पुनर्गठन हुन्छ : प्रधानमन्त्री
गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भागबण्डाका आधारमा केही दिनमा प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् ।
आज (मंगलबार) गोरखा पुगेका प्रचण्डले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुनर्गठन हुने बताएका हुन् । प्रचण्डले भने, ‘प्रदेश सरकारहरु गठन, पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीबाट प्रदेश सरकारलाई पूर्णता दिनेछौं ।’

उनले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको दलहरुबीच गम्भीर छलफल भइरहेको जानकारी गराए । प्रचण्डले थपे ,‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं । आज बिहानबाटै नेपाली कांग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ ।’
गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सडक शिलान्यास गरेका छन् । पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्डको २० किलोमिटर क्षेत्र स्तरोन्नतीका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार शिलान्यास गरेका हुन् ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीसँग शिलान्यास गर्न गोरखा पुगेका थिए ।