एआइजी ज्ञवालीको नागरिकता छानबिनका लागि गृहलाई अख्तियारको पत्र


७ चैत्र २०७९, मंगलवार
Shyam Lal Gywali AIGP

काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको नागरिकता विषयमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृह मन्त्रालयलाई पत्रचार गरेको छ । नेपाल प्रहरीमा उमेर ढाँटेर जागिर खाएको विषय प्रमाणसहित उजुरी परेपछि अख्तियारले आइतबार (६ चैत २०७९) मा छानविनका लागि गृह मन्त्रालयलाई पत्र पठाएको हो ।

सरकारले कोसी प्रदेशको प्रहरी प्रमुखको रुपमा कार्यरत डिआईजी ज्ञवालीलाई सोमवार एआइजीमा बढुवा गरेको थियो । ज्ञवाली विरुद्ध गत ११ फागुन २०७९ मा धनगढी कैलालीका शेरबहादुर चन्दले अख्तियारमा उजुरी गरेका थिए ।

उजुरीपछि अयोगले छानबिनका लागि प्रहरी उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र र नागरिकता विवरण मागेको थियो । अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै केही डीआईजीको शङ्कास्पद शैक्षिक प्रमाणपत्र र नागरिकता विवरणको जानकारी मागेको थियो ।

प्रारम्भिक छानविनपछि थप छानविनको आवश्यकता देखेर अख्तियारले बिस्तृत अनुसन्धान गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रालयलाई पत्रचार गरेको हो ।

अख्तियारको आन्तरिक छानविनमा ज्ञवाली २५ वर्ष १० दिनमा प्रहरी निरीक्षकमा भर्ना भएको देखिएको छ । जबकि नेपाल प्रहरीको प्रहरी नियमावली अनुसार प्रहरी निरीक्षकमा भर्ना हुन २० वर्ष पूरा भएर २५ बर्ष ननाघेको हुनुपर्छ । ज्ञवाली २०५० बैशाख १ गते प्रकाशित विज्ञापन अनुसार इन्सपेक्टरमा भर्ना भएका हुन् । प्रहरी नियमावलीमा प्रहरी निरीक्षकमा भर्नाका लागि १७ पुगेको र २५ बर्ष उमेर ननाघेको नेपाली नागरिक हुनुपर्छ । तर उनको नागरिकता अनुसार तोकिएको उमेर भन्दा १० दिन बढी नाघेको छ ।


के हो समस्या ?
उमेर ढाँटेर सेवा प्रवेश गरेका नेपाल प्रहरीका डीआईजी अशोक सिंहले १० फागुन २०७९ मा नै राजीनामा दिएका थिए । उमेर ढाँटेर सेवा प्रवेश र त्यही नागरिकताका आधारमा एसएसपीमै ५५ बर्ष उमेरहदले अवकाश हुनुपर्नेमा डीआइजी सिंहमात्र होइन ज्ञवाली पनि थिए । तर अशोक सिंहलाई लाग्ने नियम श्याम ज्ञवालीका हकमा भने लागू हुन सकेन ।

उमेर ढाँटेर जागिर खाएका ज्ञवाली सोमबार एआइजी बढुवा भएका छन् । र, बिचौलिया बोकेर आईजीपी हुन शक्तिकेन्द्रमा दैनिक धाइरहेका छन् ।

नागरिकतामा ज्ञवालीको जन्ममिति २०२४ चैत २१ रहेको छ । उनको जन्ममिति ५ महिना ५ दिन फरक रहेको पाइएको छ । अर्थात् उनले पनि उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरेको उनको नागरिकताबाट पुष्टि हुन्छ । ज्ञवालीको सिटरोल र शैक्षिक योग्यतामा भने जन्ममिति २०२५ भदौ २६ रहेको छ । यसअघि अशोक सिंहले उमेर ढाँटेर बढुवा भएको र सेवा प्रवेश गर्दा पनि उमेर हद नाघेपछि गरेको बिषय सार्वजनिक भएपछि राजीनामा दिएका थिए ।

प्रहरी नियमावली, २०७१ मा सेवा प्रवेश गर्दा पेश गरेको नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल) मा जन्ममिति, बर्ष, महिना र गते खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिको आधारमा अवकाश हुने ब्यवस्था छ ।

प्रहरी नियमावली अनुसार श्यामलाल ज्ञवालीको २०७९ जेठ २१ मा ५५ बर्ष पुगेकाले उनी एसएसपीबाटै अवकाश हुनुपर्ने देखिन्छ । तर ज्ञवालीसहितका अशोक सिंहसहितका एसएसपीको नागरिकता नै भेरिफाई नगरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षताको बढुवा समितिले २०७९ असार ८ मा डीआईजीमा बढुवा सिफारिस गरेको थियो । ज्ञवालीविरुद्ध कैलालीका शेरबहादुर चन्दले उमेरबारे अनुसन्धानगर्न मागगर्दै आयोगमा उजुरी दिएका थिए । उनले ज्ञवालीको डीआईजी बढुवा नै बदर हुनुपर्ने माग गरेका छन् ।


सर्वोच्च जाने तयारी
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको अवकाश मिति ४ दिनमात्रै बाँकी छ । ३० वर्षे सेवा अवधि नहटेमा आईजीपी सिंह यही चैत ११ गते अवकाशमा जानेछन् । सिंहपछि आईजीपीको दौडमा छन् चौथो वरियताका ज्ञवाली । ३० वर्षे सेवावधि हटाउन रोकेर जसरी पनि आफू आईजीपी बन्ने दौडमा रहेका छन् ज्ञवाली ।

तर ज्ञवालीको नागरिकता प्रहरी मुख्यालय र गृहमन्त्रालयमा छानविनको क्रममा रहेको छ । छानविनको प्रक्रिया चलिरहेको व्यक्तिलाई आईजीपी बनाए उजुरीकर्ताहरु त्यसविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका छन् । सरकारले बनाएको आईजीपी विरुद्ध सर्वोच्चमा जाँदा प्रहरीमा फेरि पुरानो इतिहास दोहोरिने र सरकार बदनाम हुने खतरा रहेको गृहका एक उच्च अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७