शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्‍याइए अमान्य : थापा


७ चैत्र २०७९, मंगलवार
Gagan thapa 1

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्‍याउनु पर्ने बताएका छन् । महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउनु पर्ने बताएका हुन् ।

आज (मंगलबार) काठमाडौँमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिए ।

महामन्त्री थापाले तत्कालको नाफा घाटाभन्दा बाहिर निस्केर शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन सबै राजनीतिक दललाई आग्रह समेत गरेका छन् । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्‍याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरीत जान नहुने उनको भनाइ थियो ।

महामन्त्री थापाले राजनीतिक दलहरूलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुङ्गोमा पुर्‍याउने कामबाट भाग्ने छुट नभएको पनि पटक–पटक दोहोर्‍याए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने कामको नेतृत्व कांग्रेसले नै लिनुपर्ने पनि उनले बताए ।

महामन्त्री थापाले भने, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउने मुख्य जिम्मेवारी हाम्रो हो । हामी सबैले दलीय सङ्र्कीणता वा तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्दछ । हामीसँग अब समयको सुविधा छैन । हामीले यसलाई यो वा त्यो बहानामा लम्ब्यायौँ भने अझ जटिल बन्दै जान्छ । संक्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउँदै गर्दा हामीले द्वन्द्वबाट पीडित भएकाहरूको भावनालाई सम्मान गर्न सकेनौँ, टुङ्ग्याउनु पर्छ भन्ने नाममा जबरजस्ती उनीहरूले भारी बोक्नै पर्छ भन्नेतिर लाग्यौँ भने पनि हामी अप्ठेरोमै पर्छाै । हामीले यसमा पनि ध्यान दिनु पर्नेछ ।’

कार्यक्रममा बोल्दै महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण देश आजसम्म टिकेको दाबी समेत गरे । उनले कोइरालाले लिएको आर्थिक नीतिबाटै देश टिके पनि उनीमाथि त्यसको जस नदिएर अन्याय गरेको उनको भनाइ थियो । महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई सचेत गराए ।

उनले थपे, ‘हामीले गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिलाई अन्डरस्टिमेट गर्ने गरेका छौँ । यो उहाँमाथिको अन्याय हो । आज नेपालको इकोनोमी केही कारणले टिकेको छ भने त्यो २०४८ सालदेखि २०५१ साल त्यही तीन वर्षको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले लिएको आर्थिक नीति, निर्णयको प्रभावले हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७