भूकम्पले क्षतिग्रस्त टर्किए र सिरियामा दाताहरूले सात अर्ब यूरो दिने


८ चैत्र २०७९, बुधबार
Turkey 2
फाइल फोटो

टर्किए । टर्किए र सिरियामा गएको विनाशकारी भूकम्पका पीडितहरूका लागि अन्तर्राष्ट्रिय दाताहरूले अहिलेका लागि कम्तीमा पनि सात अर्ब यूरो सहयोग गर्ने बाचा गरेका छन् । ती भूकम्प पीडितहरुका लागि सहयोग रकम जुटाउने उद्देश्यले यूरोपेली सङ्घले ब्रसेल्समा आयोजना गरेको दाताहरुको सम्मेलनका क्रममा उनीहरुले सो प्रतिबद्धता व्यक्त गरेका बताइएको छ ।

सोमबार अन्तर्राष्ट्रिय दाताहरुबाट सो सहयोगको प्रतिबद्धता आएको बताइएको हो । गत महिनाको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पले यी दुई देशमा ठूलो क्षति पुगेको छ । भूकम्पका कारण दक्षिणपूर्वी टर्किए र युद्धग्रस्त सिरियाका केही भागहरूमा गरी ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।

यस भूकम्पबाट प्रभावित हुने र विस्थापित हुने व्यक्तिको संख्या पनि लाखौं जना रहेको संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक अनुमान रहेको छ । एक प्रारम्भिक प्रतिवेदनका अनुसार टर्किएमा मात्रै एक सय अर्ब डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । उक्त क्षेत्रमा गत हप्ता आएको बाढीले पनि थप दुःख भएको जनाइएको छ ।

सोमबार आयोजना गरिएको सो दाता सम्मेलनमा विश्वका विभिन्न देशका ६० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ । हाल टर्किए र सिरियामा सङ्कटग्रस्त अवस्था रहेको र तत्कालै उनीहरुका लागि आवश्यक सहयोग जुटाउन सो सम्मेलनको आयोजना गरिएको र त्यसमा तत्कालै आवश्यक पर्ने सङ्कटकालीन सहयोग अन्तर्गत यो प्रतिबद्धता आएको बताइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७