नेपाल टेलिकममा फेरि समस्या, फोन नलाग्दा सेवाग्राहीलाई हैरानी

काठमाडौं । नेपाल टेलिकमको फोरजी नेटवर्कबाट हुने टेलिफोन सेवा भ्वाइस ओभर एलटीई (भोल्टे) मा समस्या आएपछि सेवाग्राहीहरू समस्यामा परेका छन् । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बुधबार बिहान करिब पौने १० बजेदेखि भोल्टे सेवामा समस्या आएको बताएका हुन् ।
‘टुजी, थ्रीजीमा समस्या छैन्, भोल्टेमा समस्या आएको हो, कसैले भोल्टे चलाइरहेका छन् भने टुजी या थ्रीजीमा फेरेर फोन गर्दा समस्या आउँदैन्’, उनले भने । भोल्टेको फोन कलमा समस्या आए पनि फोरजी डाटा नेटवर्कमा भने समस्या नरहेको उनले जानकारी दिएका छन् । भोल्टेमा समस्या आउँदा यसमा आधारित पोस्टपेड तथा प्रिपेड दुवै किसिमका सेवाग्राही फोन नलाग्ने समस्यामा परेका हुन् ।
विश्व दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले २०७८ जेठदेखि फोरजीमा आधारित भ्वाइस ओभर (भीओ) एलटिई सेवाको परीक्षण सुरु गरेको थियो । यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमको दाबी थियो । तर नेपाल टेलिकमको सेवामा पटक–पटक समस्या आउने गरेको छ । यसबाट लाखौं सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको नेतृत्वले समस्याको दीर्घकालीन समाधानमा चासो नदिएको आरोप समेत लाग्ने गरेको छ ।