१० दलीय गठबन्धन सरकार विस्तार लगत्तै भत्किन्छ : महासचिव पोखरेल


८ चैत्र २०७९, बुधबार
Shankar pokharel 1
फाइल फोटो

बाँके । नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धन सरकार विस्तार लगतै भत्किने दावी गरेका छन् ।

मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधानले २० मन्त्रालय र मन्त्री २५ भन्दा धेरै बनाउन निषेध गरेको बताउँदै गठबन्धनका लले २६ भन्दा बढी मन्त्रालय दावी गरेकाले सरकार गठन अघि नै विवाद हुने र सरकार विस्तार लगत्तै गठबन्धन टुट्ने जिकिर गरे । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले भने, ‘एमालेले नचाहँदा नचाहँदै १० दलीय गठबन्धन सरकार विस्तार लगत्तै ढल्ने निश्चित छ,’ उनले भने ।

पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले देशमा आर्थिक संकट निम्त्याएकाले स्थायित्व, आर्थिक बृद्धि तथा समृद्धिका लागि एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएको उल्लेख गरे ।

हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना गरेर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायौँ, तर उहाँ (पुष्पकमल) चरम दक्षिणपन्थी र नाङ्गो दलालीको रुपमा उभिनु भयो,’ महासचिव पोखरेलले भने, ‘पुष्पकमल दाहालका कारण मुलुक फेरि अस्थिरतातर्फ धकेलिने भयो ।’ उनले दाहालकै कारण देशमा आर्थिक संकट निम्तिएको बताउँदै राजनीतिक अस्थिरता र उदण्डता बढेको आरोप लगाए ।

उनले शेरबहादुर देउवा प्रधानमन्त्री र माओवादीका नेता जनार्दन शर्मा अर्थमन्त्री भएका बेला देशमा आर्थिक संकट आएको ठोकुवा गरे । ‘व्यापारीले बैंकको ब्याज दोब्बर भयो भनिरहेका छन्, तर सरकार चुरो कुरोमा पुग्न सकेको छैन’ उनले थपे, ‘जनार्दन शर्माले अवैध रुपैयाँलाई बैध बनाउन खोज्दा नेपाली रुपैयाँ हराएर जाने अवस्था सिर्जना भयो । अर्थतन्त्र धरासायी बन्न पुग्यो । फलस्वरुप तरलता सिर्जना भई बैंकहरुले ब्याज बढाए । यसको असर उद्योगी, व्यापारी र व्यवसायीलाई पर्न गयो ।’

उनले ठूला राजनीतिक दलप्रति जनताको वितृष्णा जागेको भनाईमा सत्यता नभएको बताए । युवाको भावना बुझ्न नसक्दा अहिलेको निर्वाचनको परिणाम फरक आएको उनको भनाई थियो । उनले नयाँ दललाई पानीको फोकाको संज्ञा दिए । ‘कुनै बेला विवेकशिल साझा पार्टी काठमाडौँमा उदायो । अर्को चुनावमा पानीको फोका जस्तै आफै विलाएर गयो । अहिले स्वतन्त्र पार्टीको हावा चलेको छ । त्यो पनि पानीको फोकाजस्तै आफै विलाएर जानेमा दुईमत छैन,’ पोखरेलले भने । राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन २७–२९ चैतमा नेपालगञ्जमा हुने भएको छ । महाधिवेशनमा देशभरका २५ सय युवा नेपालगञ्जमा भेला हुने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७