राजेन्द्र लिङ्देनसहित राप्रपा नेताले झापा पुगेर भेटे पूर्वराजा

काठमाडौँ । अहिले पनि राजतन्त्र आवश्य रहेको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले झापामा रहेका पूर्वराजा शाहलाई भेटेका हुन् । भेटमा सहभागी राप्रपाका महामन्त्री धवल शमशेर राणाले पूर्वराजा शाहसँग भेटका क्रममा कैद गरिएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।
तस्वीरसँगै उनले लेखेका छन्, ‘झापाको दमकमा भेटघाट,’ तर, राणाले भेटघाट भएको मितिबारे केही खुलाएका छैनन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले उक्त भेट बुधबार (आजै) भएको पुष्टि गरेका छन् । ‘भेट आजै झापामा भएको हो । राजतन्त्रको वकालत गर्ने पार्टी भएकाले यो भेटघाटलाई सामान्य रुपमा लिनुपर्छ’, उनले भने, ‘यो नियमित भेट हो ।’