असनको खट जुधाउने जात्रा {फोटो फिचर}


८ चैत्र २०७९, बुधबार
Khat jatra 4 scaled

काठमाडौं । काठमाडौंको व्यस्त बजार असनमा आज (बुधबार) बेग्लै रौनक देखियो । अधिकांश मानिसहरु रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सजिएका थिए । उनीहरु तीनवटा खट घुमाउँदै थिए ।

Khat jatra 1

यो खट जुधाउने जात्रा हो । सुरुमा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यसपछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ । त्यसपछि कंकेश्वरीलाई पनि खटमा राखेर ल्याइन्छ र तीन पटक परिक्रमा गराएर बलेको चिराग साटफेर गरिन्छ ।

Khat jatra 2

यसलाई अजिमाहरुको भेटघाट पनि भन्ने गरिन्छ । किनकी यो जात्रामा अजिमा दिदीबहिनी लुमधि अजिमा, तेबहाल अजिमा र कङ्ग अजिमालाई भेट गराइन्छ । यो जात्रा असनमा हरेक वर्ष हर्षोल्लासका साथ मनाइन्छ । किम्बदन्ती अनुसार आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरू सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्न टोल टोलबाट लिएर जाने गरिन्छ ।

इन्द्रायणी आफ्नो अरू अजिमा दिदीबहिनीभन्दा निकै गरिब थिइन् । एक दिन दिदी अजिमाले सबैलाई भोज बोलाउँदा इन्द्रायणी अर्थात् लुति अजिमा सम्पन्न नभएकाले उनलाई हेला गरेर खाना फ्याँकेर दिन्छन् । त्यसरी फ्याँकेको खानाले लुति अजिमाको बच्चाको अनुहारमा लाग्न गई रगत निस्किन्छ ।

Khat jatra 3

अपमानित भएर त्यहाँबाट सरक्क निस्किएर हिँडेकी इन्द्रायणीले बाटोबाट एउटा फर्सी किनेर लान्छिन्, तर त्यो फर्सी काट्दा त्यहाँबाट एउटा शर्प निस्किन्छ । इन्द्रायणीले अब त्यो फर्सी पनि खान नहुने भनेर फ्याँक्न जाँदा एक्कासी त्यो फर्सी सुनमा परिणत हुन्छ ।

Khat jatra 4 1

त्यसपछि, अर्को वर्ष फेरि दिदी अजिमाले भोज बोलाउँदा, इन्द्रायणी सम्पन्न भएर जान्छिन् । यस पटक उनको छुट्टै सत्कार गरिन्छ । तर, लुति अजिमाले यो सत्कार आफ्नो धनको लागि मात्र भएको भनेर आफू त्यहाँबाट बच्चाहरूसहित निस्किन्छिन् । त्यसैले आजको दिन इन्द्रायणीको भने खट निकालेर पूजा गरिँदैन । इन्द्रायणीको पूजा आजभन्दा लगभग ४ महिनाअघि नै बाला चतुर्दशीको दिन गर्ने गरिन्छ । आजको दिन नेवार समुदायमा मुकुण्डो लगाएर नाच देखाउने चलन पनि छ ।

Khat jatra 5
Khat jatra 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७