आधुनिक शिक्षामा जोड दिँदै जिल्लाको जेठो विद्यालय


९ चैत्र २०७९, बिहीबार
school pachthar

पाँचथर । विद्यार्थी संख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी संख्या घटिरहेको छ । तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिँदै विद्यार्थी संख्या बढाइरहेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेस्थित यो विद्यालय पूर्वी पहाडकै पुरानो हो । विसं २००३ मा यस क्षेत्रका सामाजिक अगुवा जयनारायण रिजालले मार्गदेवी आधारभूत विद्यालयका नाममा स्थापना गरेको यो विद्यालयले २००५ सालमा आधार शिक्षा ग्वोश्वाराबाट सञ्चालन अनुमति पाएको थियो । एक समय पाँचथरसहित इलाम, ताप्लेजुङ र पूर्वी तेह्रथुमका विद्यार्थीले अध्ययन गरेको यो विद्यालयले हाल आधारभूत तहलाई अङ्ग्रेजी माध्यममा सञ्चालन गर्नुका साथै १८ महिने सिभिल सवओभरसियर कक्षा सञ्चालन गरी विद्यार्थीलाई आकर्षित गरिरहेको छ ।

विद्यालयमा हाल चार सय ५९ विद्यार्थी अध्ययनरत छन् । नजिकै अन्य विद्यालय रहेका कारण यो संख्या बढी नै हो । विद्यार्थी संख्या कम हुँदै जाने र अभिभावकको माग अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनुपर्ने भएपछि विद्यालयले दुई पूर्व प्राथमिक कक्षा समेत सञ्चालन गरेको प्रधानाध्यापक प्रकाश आचार्यले जानकारी दिए ।

विद्यालयले कक्षा ५ सम्मको अध्यापनलाई पूर्ण अङ्ग्रेजी माध्यम बनाएको छ । कक्षा ८ सम्म पूर्ण अङ्ग्रेजी माध्यम बनाउन खोजिए पनि नजिकैका आधारभूत विद्यालयमा कक्षा ५ पूरा गरी कक्षा ६ मा नयाँ विद्यार्थी आउने हुनाले कक्षा ६, ७ र ८ मा गणित, विज्ञान र स्वास्थ्य विषय अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको आचार्यले बताए ।

आधारभूत तहलाई अङ्ग्रेजी माध्यममा सञ्चालन गर्न थालिएपछि विद्यार्थीको संख्या बढ्दै गएको आचार्यको भनाइ छ । भारत र भुटानबाट बोलाइएका शिक्षकले अङ्ग्रेजी प्रभावकारी अध्यापन गराउने अभिभावकको भनाइपछि विद्यालयले दुई विदेशी शिक्षकलाई निजी स्रोतबाट तलब दिएर राखेको छ । ‘अहिले अभिभावकको चासो बढ्न थालेको छ । विद्यार्थी संख्या बढ्दै गएको छ’, प्रअ आचार्यले भने ।

यस विद्यालयमा २०६९ सालदेखि सिभिल सब ओभरसियरको कक्षा सञ्चालन भइरहेको छ । ४० जनाको कोटा रहेको प्राविधिक धारमा ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययन गर्छन् । यद्यपि कोटाअनुसार कुनै पनि वर्ष विद्यार्थी भर्ना भएका छैनन् । ‘अहिलेसम्म करिब दुई सय विद्यार्थीले प्राविधिक शिक्षा पाइसके । सबैजना रोजगार बनेको भेट्टाएका छौँ’, प्रअ आचार्यले भने, ‘तर कुनै पनि वर्ष पूरै कोटामा अध्ययन भएको छैन ।’

पूर्वाधार अभाव

जिल्लाको पुरानो विद्यालयले भौतिक संरचना, पूर्वाधार र स्रोतसाधन अभाव झेलिरहेको छ । भवन प्रशस्त भए पनि पुराना भइसकेका छन् । अतिरिक्त क्रियाकलाप गर्न ठाउँ अभाव छ । डेस्क र बेञ्च पुराना भइसकेका छन् । सिभिल सब ओभरसियरको प्रयोगशाला निर्माण हुन सकेको छैन । पुस्तकालय पनि विद्यालयले व्यवस्थित गर्न सकेको छैन भने विद्यालयको घेराबार गर्नुपर्ने आवश्यकता खड्किएको प्रअ आचार्यको भनाइ छ ।

विद्यार्थी संख्या प्रशस्तै रहेको विद्यालयमा खानेपानी र शौचालयको राम्रो प्रबन्ध हुन सकेको छैन । विसं २०६० मा नमूना बनेको यो विद्यालय अहिले सोही सुविधाबाट वञ्चित छ । नमूना विद्यालयका लागि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा अनुदानबाट वञ्चित हुनु परेको आचार्यले बताए । १९ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयको थप ३२ रोपनी पाखोबारीस मेत छ ।

ऐतिहासिक विद्यालय

विद्यालयका शिक्षक दुर्गाप्रसाद रिजालका अनुसार यो ऐतिहासिक विद्यालयको स्थापना र सञ्चालनमा शिक्षासेवी जयनारायण रिजाल र उनका छोरा राजनीतिकर्मी तेजप्रकाश रिजालको भूमिका महत्वपूर्ण छ । जयनारायणको गोठमा मार्गदेवी स्कुलका नामले पठनपाठन सुरु भएको विद्यालयले २००५ सालमा अनुमति पाएको थियो ।

सोही वर्ष जयनारायणको निधन भयो । त्यसपछि उनका छोरा तेजप्रकाशले विद्यालय सञ्चालनको अगुवाई गरे । विसं २००६ मा निर्माण थालेर २००८ सालमा भवन निर्माण सम्पन्न गरिएको थियो । पुरानो भव्य भवन सशस्त्र द्वन्द्वको समयमा २०६१ फागुन २४ गते आगजनीबाट क्षतिग्रस्त भयो । सबै पुराना सामग्री आगजनीबाट नष्ट भए ।

मार्गदेवी आधार स्कूल जयनारायण रिजालको योगदानको कदर गर्दै जयनारायण आदर्श माध्यमिक विद्यालय बनाइएको हो । विसं २०१८ मा यस विद्यालयले माध्यमिक तह सञ्चालनको अनुमति पाएको थियो । रिजाल परिवारकै अम्बिकाप्रसाद रिजाल स्थापना कालदेखि २०१८ सालसम्म प्रधानाध्यापक रहेका थिए भने विद्यालय स्थापना हुँदा १२२ विद्यार्थी रहेको विद्यालयको स्मारिकामा उल्लेख छ ।

विद्यालयको उन्नयनमा रिजाल परिवारको योगदान छ । विद्यालय स्थापनापछि २०१८ सालसम्म अम्बिकाप्रसाद रिजाल प्रअ रहे । संस्थापक जयनारायणकै छोरा दुर्गाप्रसाद २०२६ सालदेखि २०४५ सालसम्म प्रअ रहे । यस्तै संस्थापक प्रअ अम्बिकाप्रसादका छोरा कमलप्रसाद २०५२ देखि २०५६ सालसम्म प्रअ भए । रिजाल परिवारकै भवानीशङ्कर २०४५ सालदेखि २०४९ सालसम्म तथा इन्द्रप्रसाद २०४९ देखि २०५२ र २०५८ देखि २०६६ सालसम्म प्रअ रहनुभयो । रिजाल परिवारभन्दा बाहिरबाट कमलबहादुर पराजुली, विनोदकुमार अधिकारी र हालका प्रअ आचार्य मात्रै यहाँको शैक्षिक गतिविधिको नेतृत्वमा आएको पाइन्छ । –रवीन्द्र काफ्ले / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७