अभिनेता बीएस राणाको परिवारलाई चलचित्रकर्मी कल्याणकारी कोषको एक लाख सहयोग


९ चैत्र २०७९, बिहीबार
Bhuwan kc

काठमाडौं । चलचित्रकर्मी कल्याणकारी कोषले स्व. अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ एक लाख रूपैयाँ उपलब्ध गराएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषालले बुधबार रकम हस्तान्तरण गरेका थिए । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले हाल उनीहरु रहेको ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरिएको हो ।

सहयोग हस्तान्तरणको समयमा कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष कविता गेलाल, सह कोषाध्यक्ष पवित्रा आचार्य लगायतका कलाकारहरु उपस्थित थियो । सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषमा जरुरी रहेको रकम अझै जुट्न नसकेको कारण इच्छा भएर पनि अप्ठेरोमा धेरै रकम सहयोग गर्न सकिने अवस्था नरहेको बताए ।

गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौंको गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्नेही काखले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो । वि.सं. २०४१ सालमा बनेको चलचित्र ‘अन्याय’ बाट नेपाली चलचित्रको अभिनयमा आएका स्व. राणाले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

बसन्ती, बलिदान, दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्‍यो मेरो मन, दासढुंगा, दाग लगायतका चलचित्रहरुमा उनले अभिनय गरेका थिए ।

राणाको २०७५ माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि श्रीमती हनी र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो । जेठी छोरी नन्दनी पनि बिरामी परेकी थिइन् । राणाका छोराको भने १३ वर्षको उमेरमा नै निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७