लोकतन्त्र स्थापनामा सामुदायिक रेडियोहरूको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा


९ चैत्र २०७९, बिहीबार
PRO KTM 1 scaled

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र स्थापना तथा सामाजिक विभेद र कुरीति अन्त्यमा सामुदायिक रेडियोहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई बिहीबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामुदायिक रेडियोको प्रशंसा गरेका हुन् ।

PRO KTM PM

‘शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सामुदायिक रेडियोहरूले जुन भूमिका निर्वाह गरेका थिए, संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरूद्ध र लोकतान्त्रिक प्रणालीको विकासका निम्ति रेडियोले खेलेको भूमिकासमेत त्यत्तिकै महत्वपूर्ण छ ।’

उनले भने, ‘सामाजिक विभेद, कुरीति एवं विसंगतिका विरूद्ध खरो रूपमा प्रस्तुत हुँदै सामाजिक जागरण एवं रूपान्तरणका क्षेत्रमा यहाँहरूले निर्वाह गर्नुभएको भूमिकाले सभ्य समाजको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।’

पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकारका लागि पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका हुन् ।

सञ्चारकर्मीहरुको सीप तथा दक्षता अभिवृद्धि र अध्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिवद्ध रहेको प्रचण्डले बताएका छन् ।

प्रेससम्बन्धी आवश्यक कानूनहरुको निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारुप तयार गर्ने जिम्मेवारीलाई गम्भीरपूर्वक लिँदै नीतिगत र कानूनी रुपमा देखिएका समस्या र उल्झनहरु सुल्झाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७